साउन १३, गोरखा ।धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । एक पहिरोले कृषि फर्म र एक घर पनि बगाएको छ । कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएको छिमेकीले बताएका छन् ।

जितबहादुरसहित श्रीमती कान्छी गुरुङ, उनका बुवा ६० वर्षीय सुलाल कान्छा गुरुङ, सोही ठाउँका रमेश गुरुङ, ट्याक्टर चालक रमेश परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।



पहिरोमा परेका दुई जनाको भने उद्धार भएको स्थानीय तुल गुरुङलले जानकारी दिए । नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरेको उनले बताए ।
एक कृषि फर्म र घर पहिरोले बगाएको सूचना आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी चौकी बारपाक र माछाखोलाबाट घटनास्थलतर्फ प्रहरी टोली पठाइएको उनले बताए । घटनाको विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएकोछ ।