धनगढी । सुदूरपश्चिम प्रदेशको राजपुर धनगढीमा रहेको प्रादेशिक आयुर्बेदिक चिकित्सालयबाट ४९ हजार बढीले सेवा लिएका छन् ।



स्थापना भएको डेढ वर्षको समयमा महिला २८ हजार ३२९ र पुरुष २१ हजार ४७ गरी ४९ हजार ३७६ जना बिरामीले सेवा लिएको चिकित्सालयले जनाएको छ । जम्मा सेवाग्राहीमध्ये १८ हजार ५५४ जनाले पञ्चकर्म, दुई हजार २६ जनाले योग, १३ हजार सात जनाले ज्येष्ठ नागरिक सेवा र एक हजार ५०१ जना महिलाले स्तनपायी सेवा लिएको चिकित्सालयका माया भट्टले जानकारी दिइन् ।





चिकित्सालयले ओपिडीरबहिरङ्ग, प्रयोगशाला, एक्सरे, स्नेह स्वदेन शिरोधारा, पञ्चकर्म वस्तिकर्म, वमन, विरचेन, नस्य, स्वर्ण प्राशन, होमियोप्याथी, आइपीडि (अन्तरङ्ग), ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण लगायतको सेवा प्रदान गर्दै आएको छ । चिकित्सालयले बिरामीलाई आयुर्वेदिक औषधि निःशुल्क रूपमा वितरण गर्ने गरेको छ ।

पछिल्लो समय सो चिकित्सालय दीर्घ रोगीहरूको रोजाइमा परेको छ । चिकित्सालयको सेवा विस्तार गर्नुका साथै थप सुधार गरिएकाले उपचार गराउन आउने सेवाग्राहीको सङ्ख्या बढ्दो रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. राम कामेश्वर ठाकुरले बताए ।