असोज ३०, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका छवटै वडामा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन भइरहेको खानेपानी आयोजनाको ठेक्का सम्झौता प्रक्रिया सम्पन्न भएको छ।





सबै वडाका आयोजनाको ठेक्का सम्झौता पूरा भएसँगै खानेपानी पूर्वाधार निर्माण तथा विस्तारको कामले थप गति लिने अपेक्षा गरिएको छ। विश्व बैंकको ऋण सहयोगमा नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र बर्दगोरिया गाउँपालिकाको सहलगानीमा सञ्चालित खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत यी आयोजना कार्यान्वयन भइरहेका छन्।


आयोजनामा नेपाल सरकारको ८० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको १३ प्रतिशत र गाउँपालिकाको ७ प्रतिशत लगानी रहेको छ। वडा नं. १ अन्तर्गतको सडकपुर–बौनिया खानेपानी आयोजनाको ठेक्का सम्झौता सम्पन्न भएसँगै गाउँपालिकाका छवटै वडाका आयोजनाको ठेक्का सम्झौता प्रक्रिया पूरा भएको हो। उक्त आयोजनाको निर्माणका लागि खड्का/पीएस जेभी, नौबस्ता–८, बाँकेसँग सम्झौता गरिएको छ।
सम्झौताअनुसार आयोजनाको कुल लागत १७ करोड २५ लाख ६८ हजार १२२ रुपैयाँ ४ पैसा रहेको छ। यस आयोजनाबाट करिब तीन हजार घरधुरी लाभान्वित हुने लक्ष्य राखिएको छ। खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना, बर्दगोरिया आयोजना कार्यान्वयन इकाईका प्रमुख लक्ष्मीराज जोशीका अनुसार वडा नं. ३ बाट सुरु भएको ठेक्का सम्झौता प्रक्रिया वडा नं. १ को सडकपुर–बौनिया खानेपानी आयोजनाको सम्झौतासँगै सम्पन्न भएको हो।
गाउँपालिकाका छवटै वडालाई समेटेर करिब नौ हजार घरधुरीलाई खानेपानी सेवाबाट लाभान्वित गराउने लक्ष्यसहित काम अघि बढाइएको उनले जानकारी दिए। सन् २०२८ जुलाईसम्म सबै नागरिकलाई सुरक्षित खानेपानी आयोजनाको मुख्य लक्ष्य सन् २०२८ जुलाईसम्म बर्दगोरिया गाउँपालिकाका शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउनु रहेको आयोजना प्रमुख जोशीले बताए। उनका अनुसार वडा नं. २, ४, ५ र ६ अन्तर्गतका आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ।
“निर्धारित समयभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गरी प्रत्येक नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउनु हाम्रो प्राथमिकता हो। यसका लागि गाउँपालिका र आयोजना कार्यालय निरन्तर समन्वय तथा सहकार्य गर्दै अघि बढिरहेका छन्,” जोशीले भने। पूर्वाधार निर्माणसँगै दिगो व्यवस्थापनमा जोड खानेपानी आयोजनालाई प्रभावकारी र दिगो बनाउन गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै सञ्चालन, व्यवस्थापन र संस्थागत सुशासनलाई समेत प्राथमिकता दिएको छ। आयोजना कार्यान्वयन इकाईको सहयोगमा गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी ऐन र खानेपानी सञ्चालन तथा व्यवस्थापन कार्यविधिलगायत आवश्यक कानुनी तथा नीतिगत व्यवस्था तयार गरी कार्यान्वयनमा ल्याइएको जनाइएको छ।
त्यसैगरी खानेपानी सेवाको नियमित सञ्चालन, मर्मतसम्भार र दिगोपन सुनिश्चित गर्न सम्बन्धित सरोकारवालाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गरिएका छन्। समयमै निर्माण सम्पन्न गर्नु मुख्य चुनौती छवटै वडामा ठेक्का सम्झौता सम्पन्न हुनु सुरक्षित खानेपानीको पहुँच विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भए पनि निर्धारित समयभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्नु मुख्य चुनौतीका रूपमा रहेको छ। सन् २०२८ जुलाईसम्म शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य हासिल गर्न निर्माण कार्यको प्रभावकारी अनुगमन, गुणस्तर सुनिश्चितता, समयमै समस्या समाधान तथा सम्बन्धित निकायबीच निरन्तर समन्वय आवश्यक देखिन्छ।
छवटै वडामा ठेक्का सम्झौता प्रक्रिया सम्पन्न भएसँगै बर्दगोरिया गाउँपालिकामा सुरक्षित खानेपानीको सर्वसुलभ पहुँच विस्तार गर्ने आधार तयार भएको छ। अब निर्धारित समयभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गरी खानेपानी सेवाको दिगो व्यवस्थापन सुनिश्चित गर्नु आवश्यक देखिन्छ।












