असोज १२ चितवन । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको नौबिसेदेखि मुग्लिनसम्म र नारायणगढ–मुग्लिन सडकको मुग्लिनदेखि नारायणगढसम्म विभिन्न स्थानमा सडक भासिने, चर्किने तथा पहिरो खस्ने समस्या देखिएको छ। लगातारको वर्षाले त्रिशूली नदीको जलस्तर बढ्दा सडक भासिनुका साथै ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ।





चितवन र धादिङ जोड्ने हुग्दी खोला नजिकै पानीधारामा आइतबार साँझ गएको पहिरो सोमबार बिहानदेखि हटाउन थालिएको छ। ठुलो पहिरो झरेका कारण राति सफा गर्न नसकिएपछि अहिले पहिरो हटाएर बाटो खुलाउने काम भइरहेको पृथ्वी राजमार्ग नागढुङ्गा–मुग्लिन आयोजना पश्चिम खण्ड कार्यालयकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले जानकारी दिनुभयो।


डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले सडक भासिने र पहिरो झर्ने समस्याका कारण राजमार्ग अवरुद्ध भएको बताउनुभयो।
“पहिरो हटाउन आवश्यक मेसिन तथा उपकरण परिचालन गरे पनि धेरै स्थानमा सडकको अवस्था जोखिमपूर्ण रहेको छ। यद्यपि वर्षा रोकिएसँगै पहिरो हटाउने काम तीव्र पारिएको छ,” उहाँले भन्नुभयो।
अधिकांश स्थानमा पहिरो हटाइसकिएको छ। नारायणगढ–मुग्लिन सडकमा भने अहिले आंशिक रूपमा यातायात सञ्चालनमा ल्याइएको छ।
पृथ्वी राजमार्गको शीतलबजारमा केही दिनअघि बम विस्फोट गराई फुटाइएको चट्टानको पछिल्लो भागबाट लेदो र रुखसहितको पहिरो खसेको छ। पहिरोका कारण सडक छेउमा सामान्य भासिने समस्या बढ्दै गएको छ। सो स्थानमा एकतर्फी यातायात सञ्चालनमा रहेको छ।
यस्तै, गोमती खोलामा पनि लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ। कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेको छ। पहिरोले सडकको तल्लो भागलाई समेत असर गरेको छ। यो स्थानमा यसअघि पनि सडक भासिएपछि पुनःस्थापना गरिएको थियो।
पृथ्वी राजमार्ग नौबिसे–मुग्लिन आयोजनाको पश्चिम खण्ड कार्यालयकी प्रमुख सिनियर डिभिजन इन्जिनियर अधिकारीले कृष्णभीरमा पनि एकतर्फी सडक सञ्चालन गर्न सकिने अवस्था रहेको बताउनुभयो।
“सडकको तल्लो भाग यथावत् रहे पनि माथिबाट आएको पहिरोले सडक ढाकिएपछि दुईतर्फी यातायात अवरुद्ध भएको छ। यद्यपि हामी एकतर्फी सडक खुलाउन सक्ने अवस्थामा छौँ,” उहाँले भन्नुभयो। कृष्णभीरमा सडक भासिने समस्या भने यथावत् रहेको छ।
ज्यामिरेघाटको चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि दुईतर्फी यातायात अवरुद्ध भएको छ। हुग्दीखोलादेखि जवाङखोलासम्मको करिब तीन किलोमिटर सडकखण्डमा छ–सात स्थानमा ढुङ्गासहितको पहिरो खसेको छ।
चितवनको फिस्लिङमा पनि अवस्था जोखिमपूर्ण देखिएको छ। यस स्थानको करिब दुई किलोमिटर क्षेत्रमा तीन स्थानमा गरी दुई सय मिटरभन्दा बढी सडकखण्डमा ठुला ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ। यस स्थानमा सडकको आधा भाग करिब ३० मिटर चर्किएर दबिएको पनि इन्जिनियर अधिकारीले जनाउनुभयो।
यस्तै, चुम्लिङटारमा ढुङ्गासहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ। धारापानीमा दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग चर्किएर भासिएको छ। सिमलधारामा पनि ढुङ्गा र माटोसहितको पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ। चालिसे छहरा, वाङ्गे, सिस्नेखोला, परेवा भीर र पोखरे पानीलगायतका स्थानमा समेत पहिरो खसेको छ।
यता, नारायणगढ–मुग्लिन सडकको घोप्टेभीरमा ठूला ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि दुईतर्फी यातायात अवरुद्ध भएको छ। तुईनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा सामान्य ढुङ्गा तथा माटो खसेको छ। सिमलतालमा भने सडक भासिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो। “राजमार्गको आधा भाग चिरिएर झर्ने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो।
विज्ञहरूका अनुसार राजमार्गमा अहिले देखिएको समस्या अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण भएको हो। त्रिशूली नदीको नियमित कटान र माथिबाट पहिरो खस्ने समस्याले अहिलेको जोखिम निम्तिएको बताइएको छ।
पानी पर्न रोकिएसँगै सडकका विभिन्न स्थानमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाउने र अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। तर, सडकमा एकैपटक धेरै स्थानमा पहिरो खसेका कारण सबै ठाउँको अवरोध हटाउन समय लागेको बताइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजमार्गको पहिरो हटाउन सकिए पनि जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक सञ्चालन नगरिने बताउनुभयो। “अझै पनि वर्षा पूर्ण रूपमा रोकिएको छैन, त्यसैले आजको रात सवारी आवागमन बन्द गरिने छ,” उहाँले भन्नुभयो। गोरखापत्र












