भदौ ०१, कैलाली । कन्चनपुरको बेलौरी–८ मा मृत अवस्थामा भेटिएकी पशुपती बम जोशीको घटनाबारे निस्पक्ष छानबिन गर्न माइती पक्षले माग गरेका छन्। उनीहरुले मृतकका श्रीमान, सासु र ससुराको भूमिका माथी आशंका गर्दै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दर्ता गराएका छन्।



मृतक बमको माइतीघर धनगढी ५ मा पर्छ। गत साउन २७ गते धनगढीबाट बेलौरी स्थित आफ्नो घर गएकी उनी २८ गते दिउँसो करिब २ बजे घरभन्दा करिब ३ किलोमिटर टाढा उखुबारिमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन। उनको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ।



उनका श्रीमान हेमराज जोशी बागलुङ स्थित एक विद्यालयका शिक्षक हुन भने मृतक बम डोटीको बोगटान फुडशिलमा रहेको एक विद्यालयकी शिक्षिका थिइन। परिवार श्रोतका अनुसार मृतक बमले विगत लामो समय देखी श्रीमान तथा घरपरिवारबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी थिइन। माइती पक्षकी देवी सिंह बमले भनिन्; “आफ्नो जात मिल्दो भएन भनेर पहिल्यै देखी उनको परिवारमा खटपट थियो। श्रीमान समेत म अर्को बिहे गर्छु भनेर धम्क्याउने गर्थे। कहिलेकाँही त फोनमा आफ्नो बिहेगर्ने केटी सँग बोल भनेर कुरा गराउन खोज्थे।”
उनका अनुसार प्रेम सम्बन्धमा रहेका मृतक बम र हेमराज जोशीको करिब १५ वर्ष अघि मागी विवाह भएको थियो। यस्तै समस्या हुन सक्ने भन्दै हामीले ब्राह्मण परिवारमा छोरी दिन चाँहेका थिएनौ। बमले अघि थपिन; “हेमराजले पशुपती सँग बिहे नगरिदिए आत्महत्या गर्छु भनेर बाउ आमालाई भनेका रहेछन्। उनका बाउ आमा आएर छोरी नदिए आफ्नो छोराको जिम्मा लिनुपर्छ भने, केटाकेटीको मन मिल्छ र परिवार तयार छ भने हामीले पनि ठिकै छ भन्यौ।”
उनका अनुसार मृतक बम एक महिना बस्ने भन्दै गत साउन १६ गते श्रीमान सँगै बाग्लुङ गएकी थिइन तर उनी त्यहाँ नबसी ३/४ दिनमा फर्किइन र त्यसको १/२ दिनमा मृत भेटिएकी हुन। उनिहरुको दुई छोरा समेत छन्। बिहे गरेर लिएका जोशी परिवार तथा मृतकका श्रीमान् त्यसयता ससुरालिमा सामान्य भेटघाट गर्न समेत कहिल्यै फर्केर नआएको माइती पक्षको दाबी छ।
माइती पक्षले मृतक बमको आत्महत्या नभइ हत्या भएको हुन सक्ने आशंका गरेको छ। मृतकको अवस्था र प्रकृती हेर्दा उनको हत्या भएको हाम्रो आशंका छ। मृतकका भाई मखन बमले भने; “शव बसेको अवस्थामा झुण्डिएको छ। छटपटाहटको स्थिती देखिएको छैन्। पिठ्युमा हातले समातेको जस्तो गरी माटो लागेको छ। अन्य कुराहरु पनि छन् अहिले सबै नभनौ, प्रहरी अनुसन्धानबाट खुल्दै जाला, जे होस घर परिवारले नै मार्न लगाए की भन्ने हाम्रो आशंका छ।”
उता मृतकका ससुरा माहारुद्र जैशीले घरबाट घास काट्न जान्छु भनेर बिहान ८ बजे निस्केकी बुहारी मृत अवस्थामा भेटिएपछि आश्चर्य चकित भएको बताए। “साउन २७ गते बिहान बुहारी धनगढीबाट घरमा पुगिन; विवाद, झगडा भन्ने केही भएन। बुहारीलाई सन्चो नभएको जस्तो अनुभूती हामीले गर्यौ। २८ गते बिहान संगै नास्ता खायौ। बुहारीलाई सन्चो छैन जस्तो छ, घरमै बस भन्नु भनेर उनको सासु घास काट्न गइन, पछि बुहारी पनि घास काट्न जान्छु भनेर हिडिन, नजाउ भनेको मानिनन्। अहिले यस्तो अवस्थामा फेला परिन।” उनले भने। यता इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक कमल प्रसाद चौधरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन्।














