
करिब डेढ महिना अघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भुकम्प गयो । जसका कारण हजारौँ मानिसहरु प्रभावित बने । भुकम्पका कारण कयौँ घरहरु भत्किए भने लगभग दुई दर्जन मानिसहरुले ज्यान गुमाउनुप-यो । भुकम्पका कारण घरबार विहिन बनेकाहरु अझै पनि त्रिपालमुनी रात बिताउन बाध्य छन । चिसोको मौषममा त्रिपालमुनी रात बिताउनुपर्दा कयौँ मानिसहरु चिसोकै कारण ज्यान गुमाईरहेका छन ।




चिसोका कारण दीर्घरोगी, वृद्धवृद्धा, शिशु, गर्भवती एवम् सुत्केरीहरु बढी प्रभावित बनेका छन ।



सरकारले हालसम्म पनि आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गर्न नसक्दा भूकम्प पीडितहरू चिसोबाट अत्यन्तै प्रभावित बनेका छन । सरकारको अकर्मण्यताले गर्दा भूकम्पमा जसोतसो बाँचेकाहरू चिसोबाट मर्न विवश छन् । जाजरकोट र रुकुम पश्चिमका करिब ५५ हजार परिवार भुकम्पका कारण प्रभावित रहेका छन । त्यसमध्ये करिब एक हजार परिवारका लागि विभिन्न संघसंस्था, स्वयंसेवी तथा राजनीतिक दलको पहलमा अस्थायी टहरा बनेका छन् । बाँकी पीडितहरू खुला आकाशलाई छानो र भुईँलाई ओछ्यान बनाएर त्रिपालमुनि रात बिताउन बाध्य छन् ।




प्रभावितसँग चिसो सिरेटो र शीतबाट जोगिन छानो त छैन नै आङ छोप्न एक सरो न्यानो लुगा पनि छैन । शौच गर्नसमेत समस्या छ । सरकारलाई भने यसको कुनै पर्वाह छैन । भुकम्प प्रभावितहरुलाई चिसोबाट मात्रै नभई चिसो मौषममा लाग्ने अन्य रोगहरुबाट पनि उत्तिकै जोखिम रहेको छ । भुकम्पले दुःख दिएका उनिहरुप्रति सरकारले ध्यान दिन नसक्दा चिसो र अन्य भाईरलजन्य रोगहरुको पनि जोखिम मडारिरहेको छ । भुकम्प पिडितहरु चिसोसँग जुधिरहदा सरकारले भने टुलुटुलु हेर्ने काम मात्रै गरिरहेको छ । सरकारले अभिभावकको जिम्मेवारी निभाउन सकेको छैन । जसको मारमा प्रत्यक्ष रुपमा नागरिकहरु परेका छन ।




सरकारले नागरिकहरुको दुःख लाई आत्मसाथ गर्दै त्यसमा मल्हम लगाउने काम गर्नुपर्दछ । नागरिकका हरेक समस्याहरुको समाधानमा अग्रसर बन्नु सरकारको कर्तव्य हो । नागरिकलाई समस्या परेका बेला सक्दो सहयोगका लागी अग्रसर बन्नुको साटो पेन्डुलम भएर बस्नु सरकारको लाचारिपन हो । तसर्थ नागरिकको सुरक्षार्थ सरकारले जस्तोसुकै पहलकदमी पनि चाल्न जरुरी छ । भुकम्प प्रभावितहरु एकातिर भुकम्पका कारण पिडित बनिरहदा दोस्रो तिर अभिभावकले मतलब नगर्दा अझै पिडामा छन । भुकम्प पिडितहरुको पिडामा मल्हम लगाई उनिहरुको रक्षा गर्ने काम सरकारको हो र त्यसमा सरकारले ढिलाई कदापी गर्नुहुदैन ।
