आइतबार लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको हो । अभियानका क्रममो लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्दै परिवार र समुदायलाई जिम्मेवार बनाउने र हिंसा न्यूनीकरणमा सबै निकाय तथा नागरिकलाई थप जिम्मेवार बनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन ।

नेपालमा २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । शारीरिक, मानसिक र यौनजन्य क्षति वा पीडा पु¥याउने गरी सार्वजनिक वा निजी जीवनमा महिलामाथि लिङ्गका आधारमा हुने हिंसा महिला हिंसा हो । महिलाविरुद्धको हिंसा प्रमुख सामाजिक समस्या रहँदै आएको छ । कुरीति, पछौटेपन, आर्थिक रूपमा परनिर्भरता, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा लैङ्गिक हिंसाका घटना हुने गरेका छन् ।

विभिन्न अभियान नै सञ्चालन गरिए पनि महिला हिंसाका घटना निरन्तर बढीरहेका छन । समाजमा छाउपडी प्रथा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सी आरोप, छुवाछूतलगायतका कुसंस्कार व्याप्त छ । यी अभ्यास र सोच मानवका लागि कलङ्कका रूपमा सदियौँदेखि विद्यमान छन् जसको परिणामस्वरूप महिलाले पारिवारिक जीवनदेखि सार्वजनिक क्षेत्रमा विविध हिंसाको सामना गर्नुपरेको छ ।

घर होस् वा सार्वजनिक स्थल, महिलाविरुद्ध हिंसाका घटना हुने गरेका छन् । महामारी, प्राकृतिक प्रकोप, युद्ध, राजनीतिक अस्थिरता जस्ता जटिल परिस्थितिमा हिंसाका घटना बढ्छन् । संयुक्त राष्ट्रसङ्घले हालै १३ देशमा गरेको एक अध्ययनमा पनि कोभिड–१९ को महामारीमा महिला हिंसाका घटना बढेको पाइएको छ ।

महामारीबाट सुरक्षाका लागि घरमा बस्नुपर्ने बाध्यतामा पनि घरभित्रै पनि असुरक्षित हुनुपर्ने अवस्था विडम्बनापूर्ण छ । नेपालमै पनि ८० प्रतिशत महिला हिंसाका घटना घरमै हुने गरेको पाइएको छ, अझ आफन्तबाटै पीडित हुनुपर्ने अवस्था पनि छ ।

यो वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने यो अभियान सकिएको भएपनि हिंसाका घटना निरन्तर भने रोकिने सुनिश्चित छैन । त्यसैले यस्ता अभियान दिवस मनाउने बेला सम्म मात्रै सीमित नभई हिंसाका घटना अन्त्य नहुँदा सम्म वर्षभरीनै जारी राख्न आवश्यक छन । जसले गर्दा यस्ता घटना न्यूनिकरण गर्न मदत पुग्छ ।