काठमाण्डाै । नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीको भवन काठमाण्डौ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति प्रदान गरेको छ ।

ब्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ को कुल ४ आना, २ पैसा १ दाम भएको जग्गा र त्यो जग्गामा बनेको भवन काठमाण्डौ महानगरले प्रयोग गर्नेगरी गृह मन्त्रालयले सहमति प्रदान गरेको हो । त्यसको बदलामा रामशाहपथको उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको ७ रोपनी, २ पैसा, ३ दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगर सहमत भएको छ ।

आज गृह मन्त्रालयमा भएको दुई पक्षबीचको छलफलमा सहमति भएअनुसार निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिनुभयो ।

यसअघि काठमाण्डौ महानगरले नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीकाै भवनमा वडा कार्यालय राख्नका लागि माग गर्दै आएको थियो ।

सार्वजनिक/सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने भनेर कानूनमा उल्लेख छ । तर ती जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ त्यससँग समन्वय र सम्झौता गरी उपभोग गर्न पाउने कानूनी व्यवस्थाअनुसार महानगरले गृह मन्त्रालयसँग सहमति लिएको हो ।