काठमाण्डौ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँमा कुहिरो लागेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही ठाउँमा कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशलगायत बाँकी हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ र अन्य क्षेत्रमा मौसम सफा रहनेछ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी आज राति तराई क्षेत्रका केही ठाउँमा हुस्सु रहनेछ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका तराई क्षेत्रमा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।