असोज २५, कैलाली । स्थानीय पर्यटन प्रवद्र्धन,तथा संस्कृतिको संरक्षण र स्थानीय समुदायको आर्थिक विकास गर्ने उद्देश्यले अमौरी सामुदायिक होमस्टेको आज भव्य उद्घाटन गरिएको छ ।

कैलालीको जानकी गाउँपालिका ५ अमौरीमा रहेको होमस्टेको जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले रिवन काटेर गरेका भब्य समारोहका बिच उद्घाटन हुन । कार्यक्रममा जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमति कठरिया, स्थानिय सामुदायिक वन संरक्षणकर्मी, होमस्टे सञ्चालक, नागरिक अगुवा, समाजसेबी बुद्धिजिबि लगायतको सहभागित रहेको थियो ।

कार्यक्रमा बोल्दै अमौरी सामुदायिक होमस्टेका अध्यक्ष तुलाराम चौधरीले सामुदायिक होमस्टे सञ्चालनमा आएसँगै यस क्षेत्रको स्थानीय थारु पहिचान, रहनसहन, परम्परा, खानपान तथा सांस्कृतिक विशेषतालाई पर्यटकमाझ परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको बतए । साथै, ग्रामीण पर्यटनको विकासमार्फत स्थानीय बासिन्दाका लागि रोजगारी तथा आयआर्जनका नयाँ अवसर सिर्जना हुने विश्वास लिइएको उनले बताए ।

सामुदायिक होमस्टे हाल ग्रामीण क्षेत्रको पर्यटन विकासको महत्त्वपूर्ण माध्यमको रुपमा बिस्तार हुदै गइरहेको छ । यसले पर्यटकलाई स्थानीय समुदायसँग नजिकबाट जोड्ने मात्र नभई गाउँको परम्परागत परिकार, संस्कृति र प्राकृतिक वातावरणको अनुभव गर्ने अवसर समेत प्रदान गर्दछ ।

अमौरी सामुदायिक होमस्टेको स्थापनाले स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै यस क्षेत्रको पर्यटन सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका साथै, होमस्टेको दिगो सञ्चालन, आवश्यक पूर्वाधारको विकास, प्रचारप्रसार, सरसफाइ तथा गुणस्तरीय आतिथ्य सेवामा ध्यान दिन सके अमौरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ जसले पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।