असोज ४ कैलाली । जिल्लाको बर्दगोरियामा यू–१६ प्रदेशव्यापी छात्र विद्यालयस्तरीय फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ। बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा हुन गईरहेको प्रतियोगिता मंसिर ४ गते शुक्रबारदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।


प्रतियोगितामा प्रदेशभरिका विद्यालयबाट ३२ वटा छात्र फुटबल टोली सहभागी हुनेछन्। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख २१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार ६१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष प्रमोद मल्लले बताए । उनकाअनुसार Player of the Tournament लाई १५ हजार, Highest Scorer, उत्कृष्ट Defender, Midfielder र Goal Keeper लाई जनही १० हजार रुपैयाँ प्रदान गरिने छ। उत्कृष्ट प्रशिक्षकलाई १० हजार, उद्यमान खेलाडीलाई १० हजार तथा Fair Play Award का लागि ५ हजार रुपैयाँको पुरस्कार राखिएको छ।
प्रत्येक खेलको Player of the Match लाई १ हजार रुपैयाँ प्रदान गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा कक्षा १० सम्म नियमित अध्ययनरत विद्यार्थी मात्र सहभागी हुन पाउनेछन्।
खेलाडीले सम्बन्धित सरकारी निकायबाट मान्य नाबालक परिचयपत्र तथा IEMIS बाट फोटोसहित प्रिन्ट गरिएको परिचयपत्र (ID Card) अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित विद्यालयको विद्यार्थी नभएको प्रमाणित भएमा खेलाडीलाई प्रतियोगिताबाट निष्कासन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितालाई थप आकर्षक बनाउन सहभागी विद्यालयहरूले फ्रेन्डसिप ब्यानरसमेत बनाउनुपर्नेछ। प्रतियोगिताको खेल तालिका सहभागी टोलीका प्रतिनिधिहरूको उपस्थितिमा प्रकाशन गरिने जनाइएको छ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन खेलाडी तथा अफिसियलका लागि विभिन्न आचारसंहिता समेत तोकेको छ। दुईवटा पहेँलो कार्ड पाएमा खेलाडी/अफिसियल अर्को खेलमा स्वतः निलम्बित हुने तथा रातो कार्ड पाएमा अर्को खेलमा स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ।
प्रतियोगिताका खेलहरू goalnepal.com बाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सले विद्यालय, खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी भई युवा खेलाडीको प्रतिभा विकास र स्थानीय खेलकुद प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको छ ।













