असोज २ काठमाण्डौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका व्यक्तिका परिवार डीएनए रिपोर्टको पर्खाइमा बसेका छन् ।  सास वा लास केही फेला नपर्दा आफूहरू सामाजिक संस्कारसमेत गर्न नपाएको नेपालगन्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताउनुभयो ।

CP-HOSPITAL

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमै रहनुभएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीय विष्णुमती रोकाय र गोसाइँकुण्ड दर्शन गर्न पुग्नुभएका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएको २२ दिन पुग्दा पनि कुनै अत्तोपत्तो नलाग्दा दुःखमाथि दुःख थपिएको अनलालले बताउनुभयो ।

बुढेसकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ ।

“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ,” अनलालले भन्नुभयो, “डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र मनभित्रको असह्य पीडाबिच विछोडको भारी थाम्न विवश छौँ ।”

शव पहिचानको लागि डीएनए परीक्षणको लागि नमूना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजु र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको उहाँको भनाइ छ।

अनलालले नेपालगन्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणको लागि नमूना दिनुभएको थियो । डीएनएको रिपोर्टसमेत नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कारसमेत गर्न नसकेको बताउँदै उहाँले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिको बारेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्नेमा जोड दिनुभयो ।

“सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ,” अनलालले भन्नुभयो, “हामी डीएनए रिपोर्टको प्रतीक्षामा छौँ, सरकारले आधिकारिक रुपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोंच बनाएका छौँ ।”

रोजीरोटीका लागि रसुवा पुग्नुभएका आराम दमाई र उजना दमाई पनि सोही बाढीमा परी बेपत्ता भएपछि १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीय बहिनी स्मारिका दिनभर टोलाउँदै आमा–बुवा फर्किने बाटो हेरिरहनुहुन्छ । डीएनए रिपोर्टको प्रतीक्षा गरेर बसेको सुभाषले बताउनुभयो ।

नेपालगन्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले सबैलाई सान्त्वना दिँदै र सम्झाउँदै आएको बताउनुभयो । उहाँले बेपत्ताहरूको खोजी जारी राख्न र पीडित परिवार, विशेषगरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाहरूको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो ।

भोटेकोशीमा आएको बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौँस्थित अस्पतालमा र बाँकेमा रहेका १७ जनाले गत शनिबार नेपालगन्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगन्जमा सम्पर्कमा आउनुभएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमूना सङ्कलन गरिएको हो ।

अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डीएनए नमूना सङ्कलन गरिएको छ । डीएनए परीक्षणको लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्कअनुसार रसुवाको भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन्।

हालसम्म तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । गोरखापत्र