कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर -५ मा राती कुटपिट हुँदा ३ जना घाइते भएका छन् ।



गएराति वडा नम्बर -५ को कोईलीभुरूवामा करिब १० बजेको समयमा २ समुह बीच एकआपसमा विवाद भई कुटपिट हुँदा ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।




घाइते हुनेहरुमा बर्दगोरिया -५ कोइलीभुरुवाका २२ वर्षीय पारस कठरिया सोही ठाउँका २३ वर्षीय उपेन्द्र डगौरा र बर्दगोरिया -६ का १८ वर्षीय देबु कठरिया रहेको जनाइएको छ । घाइते मध्ये दुई जनाको माया मेट्रो हस्पिटल प्रा लि धनगढी रेफर गरिएको जनाएको छ ।


टाउकोमा गम्भीर चोट लागेका पारस कठरिया र उपेन्द्र डगौरालाई रेफर गरिएको जनाइएको छ । कठरियालाई अहिले आई सी यु मा भर्ना गरिएको छ भने, बर्दगोरिया -६ का देबु कठरियाको एक हात भाँचिएको र घोडाघोडी अस्पताल प्रालि सुखडमा उपचार भइरहेको जनाइएको छ ।

कुटपिटमा संलग्न अन्य दुई जना बर्दगोरिया -६ का १६ वर्षीय मुस्कान चौधरी र १७ वर्षीय आकाश चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटना स्थल बाट प्रहरीले रड समेत बरामद गरेको छ । अहिले चाडबाड नजिकिँदै जाँदा यस्ता आपराधिक क्रियाकलापका घटनाहरू बढ्ने भएकाले सबै सचेत रहन आवश्यक देखिन्छ ।














