वैशाख २३, धनगढी अविनाश चौधरी । कैलालीको मोहना नदीमा जलपन्छीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपन्छी उत्तरी ध्रुवतर्फ फर्के पनि यहाँ सङ्कटापन्न नकटासहित विभिन्न प्रजातिका चराको चहलपहल देखिएको हो ।




नकटा, खोया हाँस, बकुल्ला, खोले हुटिट्याउँ, सानो जलेवा लगायतका अन्य रैथाने प्रजातिका चराको अझै पनि चहलपहल मोहना नदीमा देखिएको छ । हिउँदभरी चखेवा लगायतका आगन्तुक चराको चहलपहल थियो । साइबेरिया, मङ्गोलिया, उत्तरी चीनतर्फ गए पनि घरपालुवा हाँसजस्ता देखिने नकटा चराको उपस्थिति अझ निकै राम्रो देखिएको छ ।



स्थानीयवासीका अनुसार मोहना नदी नकटा चराको क्रिडास्थल बनेको छ । विहानदेखि साँझसम्म नदीमा नकटा चराहरु बस्ने, आहारविहार गर्दै रमाउने गरेको उनीहरु बताउँछन् । नेपालमा सङ्कटापन्न नकटा चरा सबैभन्दा बढी पश्चिम क्षेत्रमा पाइने गरेका छन् । कैलाली, कञ्चनपुरका विभिन्न तालतलैया, सिमसारमा यी प्रजातिको चरा बढी देखिने गरेको चराविद हिरुलाल डङ्गौराले बताउनुभयो।















