वैशाख १२, काठमाण्डौ । सरकारले काठमाडौंको थापाथलीको सुकुम्बासी बस्ती आजदेखि हटाउन सुरु गरेको छ। सरकारले डोजर चलाएर काठमाडौंको थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्तीमा शनिबारदेखि खाली गर्न लागेको हो।



थापाथलीमा भर्खरैबाट डोजर चल्न सुरु गरेको छ। आज बिहानैबाट थापाथलीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बस्ती भत्काउँदा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै काठमाडौँ प्रशासन र काठमाडौँ महानगरले समन्वय गरिरहेको जनाएको छ।




गत बुधबार साँझ प्रधानमन्त्री बालेन शाहले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए। शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएसँगै काठमाडौं प्रशासन र काठमाडौं महानगरपालिकाले सुकुम्बासीलाई बस्ती छाड्न माइकिङ गर्दै ‘सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिकासमेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र भित्र हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईं आफैं हुने’ चेतावनी दिएको थियो।
सरकारको यो चेतावनीपछि शुक्रबार र आज बिहान पनि काठमाडौंका खोला किनारका केही बासिन्दाले बस्ती खाली गरेका छन् भने केहीले आफ्नो अधिकार हनन भएको भन्दै सरकार विरोधी नारा लगाएका छन्। बस्तीमा बसोबास गरिरहेका नागरिक सामान ओसारी रहेका छन् भने काठमाडौं महानगरका प्रहरी र नेपाल प्रहरीले सहयोग माग्नेलाई सामान हटाउन साथ दिइरहेको छ।











