वैशाख ११, कैलाली एकिन्द्र तिमिल्सेना । कैलालीको पूर्वी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी लम्कीचुहा नगरपालिका–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार एक विशेष समारोहबीच उक्त कार्यालयको उद्घाटन गर्नुभयो ।



कार्यालयको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले नागरिकलाई घरदैलोमै सहज सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको सुविधाका लागि सेवा कार्यालय सुरु भएको छ, आगामी दिनमा यहाँबाट प्रदान गरिने सेवाहरू थप विस्तार गर्दै लगिनेछ ।”




सङ्घीयता कार्यान्वयन हुनुअघि सुदूरपश्चिममा धनगढी र महेन्द्रनगरमा मात्र यातायात कार्यालय सीमित थिए । प्रदेश सरकार गठन भएपछि डडेलधुरा र डोटीमा कार्यालय स्थापना भइसकेका छन् भने लम्कीमा खुलेको यो पाँचौँ कार्यालय हो । प्रदेश मन्त्रिपरिषद्को २०८२ मङ्सिर २४ गतेको निर्णयअनुसार सेवालाई विकेन्द्रित गर्ने क्रममा यो कार्यालय सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारीका अनुसार कार्यालयले गत चैत २४ गतेदेखि नै परीक्षणका रूपमा सेवा सुरु गरिसकेको थियो । सो अवधिमा बिलबुक नवीकरणबाट मात्रै १३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । “सरकारको नीति ‘लाइनमा होइन अनलाइनमा, भिडमा होइन प्रविधिमा’ भन्ने छ,” सचिव भण्डारीले भन्नुभयो, “हाललाई बिलबुक र लाइसेन्स नवीकरण सुरु गरिएको छ, मागअनुसार अन्य सेवा पनि थपिनेछन् ।”
कार्यालय सञ्चालनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि सात कोठाको भवन र पार्किङ क्षेत्र निःशुल्क उपलब्ध गराउनुभएको छ । वर्षौँदेखिको माग पूरा भएपछि स्थानीय जनप्रतिनिधि र नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयक, प्रदेश सभा सदस्य रामेश्वर चौधरी, टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नगार्जीसहित विभिन्न गाउँपालिकाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।












