वैशाख १०,वीरगञ्ज ।  सीमा नाकाबाट हुनसक्ने विदेशी नागरिकको घुसपैठ रोक्न वीरगञ्ज नाकामा बिहीबारदेखि सुरक्षाकर्मीले निगरानी बढाउँदै चेकजाँचमा समेत कडाइ गरेको छ ।

भारतसँग खुल्ला सीमा जोडिएका सीमा नाकाबाट धार्मिक, सामाजिक, आर्थिकलगायतका विभिन्न उद्देश्य लिएर विदेशी नागरिकहरूको अवैध घुसपैठ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै वीरगञ्ज नाकामा बिहीबारदेखि सुरक्षाकर्मीले निगरानी बढाउँदै जेकजाँचमा समेत कडाइ गरेको हो ।

भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगञ्जको शंकराचार्य प्रवेशद्धारमै बिहीबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले सुरक्षा निगरानी र चेकजाँचमा कडाइ गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताए । राष्ट्रिय सुरक्षा र अमन चयनलाई थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबारदेखि सीमा नाकाबाट प्रवेश गर्ने विदेशी यात्रुहरूको विशेष निगरानी गर्न थालिएको उनले बताए ।

उनका अनुसार सुरक्षाकर्मी र अध्यागमनका कर्मचारीसहितको संयुक्त टोलीले वीरगञ्ज नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुहरूको नाकामै यात्रा कागजात (पासपोर्ट÷भिसा) रुजु गर्ने, सम्पर्क नम्बरसहितको पूर्ण विवरण लिएर अभिलेख राख्ने काम गरिरहेका छन् । देशको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी बिहीबारदेखि नाकामा थालिएको विशेष निगरानी र सुरक्षा चेकजाँचको अभियानमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती क्षेत्रका बासिन्दासँग अपिल पनि गरेको छ ।

बिहीबार एक सूचना नै जारी गरेर जिल्ला प्रशासन कार्यालयले आफ्नो गाउँ-टोल वा व्यवसाय (होटेल-लज) मा कुनै विदेशी नागरिक शंकास्पद रूपमा बसोबास गरेको वा फेला परेमा तत्काल नजिकैको सुरक्षा निकायमा खबर गर्न अपिल गरेको छ ।

यस्तै नाकामा सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीहरूलाई विदेशी यात्रुको विवरण संकलन कार्यमा आवश्यक सहयोग गरिद र अवैध रूपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखिएमा निर्धक्क भई सुरक्षा निकाय वा स्थानीय प्रशासनलाई जानकारी दिन पनि अनुरोध गरिएको सहायक प्रजिअ पोखरेलले बताए । सीमा नाकाबाट हुनसक्ने सम्भावित अवैध गतिविधि रोक्न र सुरक्षा व्यवस्था मजबुत बनाउन नाकामा विशेष गिरानी र सुरक्षा जाँचमा कडाई गरिएको उनले बताए ।

बुधबार मात्रै विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’ मा सहभागी हुने बहानामा विशेष गरी बंगलादेश र म्यानमारका रोहिङ्ग्याहरू अवैध रुपमा नेपाल प्रवेश गर्नसक्ने खतरा रहेकाले नाकामा कडाई गर्न माग गर्दै जिल्ल प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र नै बुझाएको थियो ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुरमा आयोजना हुन लागेको इज्तिमामा पाकिस्तान, बंगलादेश लगायतका देशहरूबाट सहभागीहरू आउने तयारी भइरहेको सूचना आएको भन्दै विश्व हिन्दु परिषद्ले धार्मिक भेलाको आवरणमा छिमेकी राष्ट्र भारत र तेस्रो मुलुकबाट अवैध रूपमा विदेशीहरू नेपाल भित्रिने र उनीहरूका कारण देशको सुरक्षा संयन्त्रलाई कमजोर पार्नसक्ने खतरा रहेको परिषदले बुझाएको ज्ञापनपत्रमा उल्लेख थियो ।