वैशाख १०, तनहुँ । नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको काम तीव्र रूपमा अघि बढाएको छ । जर्मनी सरकारको केएफडब्लु विकास बैङ्कमार्फत सहवित्त पोषित यस परियोजना अन्तर्गत ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने भएको छ ।



प्रसारण लाइन निर्माणमा जर्मनीको प्राविधिक सहयोग रहने र जग्गा अधिग्रहणको काम नेपाल विद्युत् प्राधिकरणले गर्ने गरी काम अघि बढेको छ । आयोजना प्रमुख जगदीश पौडेलका अनुसार आयोजनाका लागि जर्मनीले छ करोड अमेरिकी डलर सहयोग गर्ने छ ।




आयोजनाले काम अघि बढाउन प्रभावित क्षेत्रका बासिन्दासँगको छलफललाई तीव्रता दिएको छ । गत हप्ता पनि व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका प्रभावितसँग भएको छलफलमा तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले ऊर्जा विस्तारका लागि यो आयोजना निकै महत्वपूर्ण भएकाले कसैले अवरोध गर्न नहुने बताउनुभयो । प्रजिअ तिवारीले भन्नुभयो, “सरकार र जनता दुवैको हित हुने गरी काम गर्छौं, प्रभावितलाई न्यायोचित मुआब्जा प्रदान हुन्छ ।”
आयोजना प्रमुख पौडेलले प्रसारण लाइनको सर्वेक्षण भइसकेको र वैज्ञानिक ढङ्गबाट क्षति अनुसारको मुआब्जा वितरण गरिने प्रतिबद्धता जनाउनुभयो । छलफलका क्रममा प्रभावित स्थानीयले उचित मुआब्जाका साथै आयोजनामा सेयर पाउनुपर्ने माग राखेका छन् । स्थानीय ऋषिराम भट्टराईले भन्नुभयो, “पुरानो घरको क्षतिपूर्तिले अहिलेको महँगीमा नयाँ घर बनाउन सकिँदैन । त्यसैले नयाँ घर निर्माणको लागत अनुसारकै खर्च पाउनु पर्छ ।” अर्का स्थानीय रामनाथ पण्डितले जनताको मर्का सम्बोधन गर्न आयोजनाले कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।
करिब एक हजार मेगावाट प्रसारण क्षमता भएको यस परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाललाई सुदृढ बनाउने र तनहुँ जलविद्युत् आयोजनालगायतका परियोजनाबाट उत्पादित विद्युत्को प्रभावकारी प्रसारण सुनिश्चित गर्ने छ । यसका साथै विद्युतीय सवारी तथा न्यून कार्बन प्रविधिको प्रयोग बढाउन आधार तयार पार्दै जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने लक्ष्य आयोजनाको छ । ग्रिडको भरपर्दोपन बढाउँदै नवीकरणीय ऊर्जाको समावेशलाई प्रोत्साहन गर्दा नेपालको ऊर्जा सुरक्षामा यसले महìवपूर्ण योगदान पु¥याउने आयोजनाले जनाएको छ ।










