चैत २१, दिपायल । डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दुर्घटना जिल्ला दिपायल सिलगढी नगरपालिका–५, चिसापानीमा भएको हो।

CP-HOSPITAL

धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प्र.प्र. ०२–००१ ज ०२३९ नम्बरको इभि हाइस शनिबार बिहान ४ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–५, नुवाघरकी ५१ वर्षीया अनिता साउद र सोही ठाउँका २६ वर्षीय प्रकाश साउद घाइते भएका छन्। त्यस्तै, अछामको चौरपाटी गाउँपालिका–६, दुनिकी २५ वर्षीया कमला साउद र चौरपाटी–१, बयालीकी १९ वर्षीया कमला थापा पनि घाइते हुनुभको छ।

घाइतेहरूको उपचार दिपायलस्थित शैलेश्वरी अस्पतालमा भइरहेको छ। अस्पतालका अनुसार घाइतेहरूको अवस्था अहिले खतरामुक्त रहेको जानकारी दिएको छ।

अछामको चौरपाटी गाउँपालिका–१, सिउडीका ४५ वर्षीय शंकर शाहले चलाएको उक्त गाडीमा १५ जना सवार थिए। प्रहरीका अनुसार हाइस सडकबाट अनियन्त्रित भई नालीमा पल्टिँदा दुर्घटना भएको हो।