काठमाडौँ । दक्षिण अफ्रिकाले टी-२० विश्वकप २०२६ को सुपर एटमा बिहीबार लगातार दोस्रो जित निकालेको छ । यससँगै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।



अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको ग्रुप वानको खेलमा उसले वेस्ट इन्डिललाई सजिलै ९ विकेटले पराजित गरेको हो । यस जितका नायक रहे, कप्तान एडेन मारक्रम । उनले नटआउट रहेर ८२ रन बनाए र दक्षिण अफ्रिकाले जितका लागि १ सय ७७ रन पछ्याउने क्रममा १ विकेट गुमाएर १६.१ ओभरमा पूरा गरेको हो ।
मारक्रमले ४६ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि क्विन्टन डे ककसँग ९५ रनको साझेदारी गरे । डे ककपले २४ बलमा ४७ रन जोडे । उनको ब्याटबाट ४ चौका र ४ छक्का निस्केको थियो । अर्को नटआउट ब्याटर रायन रिकेल्टनले २८ बलमा ४५ रन बनाए । दक्षिण अफ्रिका प्रतियोगितामा खेलेका आफ्ना सबै खेलमा विजयी रहेको छ । वेस्ट इन्डिजको भने यो पहिलो हार हो ।
दक्षिण अफ्रिका ४ अंकमा समूहको शीर्ष स्थानमा रह्यो । वेस्ट इन्डिज भने २ अंकमा सीमित रह्यो । पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले यसक्रममा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । उसको सुरुआत भने राम्रो रहेन् र एक समय ८३ रन बनाउँदासम्म ७ विकेट गुमाइसकेको स्थिति थियो । त्यसयता जेसन होल्डर र रोमारियो सेपार्डले ८९ रनको आक्रामक साझेदारी गरे ।













