काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा अमेरिका, युएई र जिम्बावे विजयी भएका छन् । चेन्नाईमा गएराति सम्पन्न समूह ‘ए’ को खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले हराएको हो । जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सको भने यो दोस्रो हार हो । दुवै टोलीले समान ३ खेल खेलका छन् । जितका लागि १ सय ९७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स १५.५ ओभरमा एक सय ३ रनमा अलआउट भयो ।



टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । त्यसअघि हिजो दिउँसो भएको खेलमा यूएईले क्यानडालाई ५ विकेटले पराजित गर्यो । क्यानडाले दिएको एक सय ५१ रनको लक्ष्य यूएईले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
दिल्लीमा टस जितेर ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । त्यस्तै हिजोको पहिलो खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा जिम्बावेले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा एक सय ४६ रन बनाउँदा सबै विकेट गुमायो ।
अस्ट्रेलियाले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो । भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकप क्रिकेटमा आज तीन वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे आयरल्याण्ड र ओमानबीच खेल हुँदैछ । त्यस्तै दिउँसो सवा ३ बजे इंग्ल्यान्ड र स्कटल्याण्ड तथा बेलुका सवा ७ बजे न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।
नेपालले आफ्नो तेस्रो खेल भोलि बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग खेल्नेछ । यसअघि नेपाल इंग्ल्यान्ड र इटालीसँग पराजित भएको थियो ।













