सल्यान । अटोरिक्सा दुर्घटनामा परी घाइते भएका सल्यानका सात जनालाई जिल्ला अस्पताल सल्यानले नेपालगन्ज रिफर गरेको छ । सल्यानमा सोमबार दिउँसो भएको अटो दुर्घटनामा १० जना घाइते भएका थिए ।

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा१ह २१९५ नम्बरको अटो शारदा नगरपालिका–२ खलंगास्थित खानेपानी तथा ऊर्जा विकास कार्यालयको क्वार्टर नजिकै दुर्घटना हुँदा १० जना जना घाइते भएका थिए । घाइते सबैलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।

दुई जना उपचारपश्चात् घर फर्किएका छन् भने एक जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ र सात जनालाई नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा हेमबहादुर केसीले बताए ।

चालकसहित चार जना मात्र चढ्न मिल्ने अटोमा ११ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु राखेकै कारण अटो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अटोरिक्सा सडकदेखि ५ सय मिटर तल खसेको थियो । अटो चालक अर्जुन डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।