कैलाली । जिल्लाको जोशीपुर ६ का स्थानीय समुदायका महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको सिलाइ–कटाइ तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन सम्पन्न भएको छ।

कैलालीको जोशीपुर गाउँपालिका ६ नम्बर वडाको विनियोजित बजेट बाट सञ्चालन भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा बाट प्रस्तावित उम्मेदवार रामलाल डगौराले ब्यानर खोली गर्नुभएको हो।

उद्घाटन समारोहमा बोल्दै वक्ताहरूले सिलाइ–कटाइ जस्ता सीपमूलक तालिमले रोजगारी सिर्जना गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। तालिमबाट सहभागीहरूले व्यवहारिक ज्ञान हासिल गरी स्वरोजगार बन्ने विश्वास व्यक्त गरिएको थियो।

उक्त ३ महिने आधारभूत सिलाइकटाइ तालिममा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको भएपनि बजेट अभावका कारण सीमित मात्रमा सहभागी छनौट गरी आजदेखि तालिम सञ्चालन गरिएको जोशीपुर गाउँपालिका ६ नम्बर वडा अध्यक्ष भोजराज डगौराले बताउनु भयो ।

महिला वडा सदस्य रेखा कुमारी चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रम ६ नम्बर वडा सदस्य राजेन्द्र बडायकको सभाध्यक्षतामा सम्पन्न भएको हो ।