मिलन ओली, कैलाली । जिल्लाको बर्दगोरिया ३ स्थायी घर भएका नेकपा एमालेका युवा नेता मिलन ओली सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गरेका छन् । उनले लेख्छन समाजको सबैभन्दा सानो इकाई—टोल, बस्ती र गाउँ—आज आफैं असुरक्षित बन्दै गएको यथार्थ हामी सबैका लागि गम्भीर चिन्ताको विषय बनेको छ। आगजनी, झै–झगडा, तोडफोड र लुटपाट जस्ता अमानवीय क्रियाकलाप अब ठूला शहरमा मात्र सीमित छैनन्; गाउँ–समाजमा पनि विस्तार हुँदै गएका छन्। अझ दुःखद कुरा त के हो भने, यस्ता गतिविधि शिक्षित र सभ्य समाजको दाबी गरिएका ठाउँमै घट्दै जानु हो।



समाजमा अरूको प्रगति देख्न नसक्ने, बदलाको भावना बोकेर हिँड्ने, पूर्वाग्रही र निकृष्ट सोचमा रमाउने, अराजक र असभ्य व्यवहारलाई आफ्नो पहिचान बनाउने मानिसहरूको कमी देखिँदैन। झुटो विकार, झुटा आरोप र अरूको क्षतिमा आफ्नो अस्तित्व खोज्ने प्रवृत्ति आज समाजको ठूलो रोग बन्दै गएको छ।
हालै बर्दगोरिया गाउँपालिका वडा नं. ३ मा घटेको पशुचौपाया खुवाउन राखिएको परालमा आगो लगाउने जस्तो घटनाले हामी सबैलाई झस्काएको छ। प्रश्न उठ्छ—कस्ता खालका मानिस हुन् यस्ता ? के यो केवल व्यक्तिगत दुश्मनी हो, कि समाजमा फैलँदै गएको घृणा, ईर्ष्या र अराजक मानसिकताको परिणाम ? निर्दोष पशु, किसानको पसिना र जीविकामाथि आक्रमण गर्नु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।
यस्ता घटनाहरू केवल एउटा परिवार वा व्यक्तिको क्षति मात्र होइनन्; यसले पूरै समाजको शान्ति, विश्वास र सहअस्तित्वमाथि प्रहार गर्छ। आज यदि पराल जलाइयो भने भोलि गोठ, घर, अनि मानव जीवन नै जोखिममा पर्न सक्छ। यही कारणले समाजमा शान्ति सुरक्षा र मानिसको जिउधनको सुरक्षा सबैभन्दा पहिलो प्राथमिकताको विषय हुनुपर्छ।
यसमा केवल प्रहरी प्रशासन वा स्थानीय सरकारलाई दोष दिएर उम्कन मिल्दैन। समाजका हरेक सचेत नागरिक, टोल विकास समिति, जनप्रतिनिधि, अभिभावक, युवा र बुद्धिजीवी सबै गम्भीर बन्नुपर्छ। यस्ता गतिविधि देख्दा चुप लागेर बस्नु पनि अपराधलाई मलजल गर्नु सरह हो। समयमै सचेतना, निगरानी र सामूहिक जिम्मेवारी निर्वाह नगरे भोलि यसको मूल्य अझ महँगो पर्न सक्छ।
अब प्रश्न हाम्रो सामु छ—हामी यस्ता घटनालाई सामान्य ठानेर चुप बस्ने कि समाज सुधारको जिम्मेवारी वहन गर्ने ?
आज नै सचेत नबन्ने हो भने भोलिको समाज अझ भयावह हुने निश्चित छ।














