बौनिया । कैलालीको बर्दगोरियामा मङ्सिर २ गते देखी सञ्चालन भएको प्रदेश स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।



बर्दगोरिया स्पोट्स एन्ड इभेन्टको आयोजनामा भएको प्रतियोगितामा छात्र तर्फ ३२ टिम र छात्रातर्फ १६ टिमको सहभागिता रहेको थियो । छात्रतर्फ ३१ टिमलाई पछि पार्दै उज्यालो शिक्षा सदन लम्कीले उपाधि चुमेको छ भने छात्रातर्फ १५ टिमलाई पछि पार्दै दुर्गा भवानी माध्यमिक विद्यालय अत्तरियाले उपाधि हात पारेको छ ।
शुक्रवार भएको फाइनल खेलमा उज्यालो शिक्षा सदन लम्कीले कर्णाली माध्यमिक विद्यालय टिकापुरलाई १०/९ गोल अन्तरले पछि पारेको थियो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइव्रेकरमा धकेलिएको थियो । जसमा कर्णालीले ११ मा ९ गोल गरेको थियो भने उज्यालोले ११ मा १० गोल गर्दै विजेता बनेको छ । यस पटक कर्णाली उपविजनतामै सीमित बन्यो ।



यस्तै शुक्रवार नै भएको अर्को खेलमा दुर्गा भवानी अत्तरियाले माउन्ट शैपाल इन्टरनेश्नल स्कुल टिकापुरलाई ४/३ गोल अन्तरले हराउँदै विजयी बनेको हो । यो खेल पनि निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राइव्रेकरबाट नतिजा निस्किए पछि थियो । यो सँगै माउन्ट शैपाल पनि यस पटक उपविजनतामै सीमित बनेको छ । 
प्रतियोगिताको विजेताले क्रमशः नगद ८५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेताले क्रमशः नगद ४३ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट खेलाडीले क्रमशः नगद ८ हजार ५ सय ५५ प्राप्त गरेका छन् भने उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राईजिङ प्लेयर र उत्कृष्ट प्रशिक्षकहरूले क्रमशः ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी प्राप्त गरेका छन् ।


बर्दगोरिया स्पोट्स एन्ड इभेन्टका अध्यक्ष प्रमोद मल्लको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो प्रतियोगिताले बर्दगोरियालाई खेलमय बनाएको र खेलाडी उत्पादन तथा खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । खेलकुदको विकास तथा सामाजिक सशक्तीकरणका यस्ता अभियानलाई गाउँपालिकाले सधैँ साथ दिने समेत उनले उल्लेख गरे ।
















