काठमाण्डौ । यसपाली दशैंको टीकाको भोलिपल्टदेखि देशका केही ठाउँमा मुसल्धारे बर्षाको सम्भावना देखिएको मौसमबिद्हरुले बताएका छन् ।



गएको वर्षको असोजको जस्तै बर्षा हुने गरी प्रणाली विकास भइरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटा प्रणालीहरु विकास भइरहेकोले भोलीदेखि हल्का, मध्यम हुँदै विजयादशमीको बेलुकादेखि पूर्वी नेपालमा मुसल्धारे बर्षाको संभावना छ । यो प्रणालीको असर तीन चार दिनसम्म देखिने संभावना छ ।



यस्तै जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले पनि दशैंको टीकाको भोलिपल्टदेखि मुसल्धारे वर्षा गराउने गरी प्रणाली विकास भइरहेको जानकारी गराउनुभएको छ । सामाजिक संजाल फेसबुकमा लेख्दै उप्रेतीले असोज १८ गते अघि पनि ठाउँठाउँमा बर्षाको संभावना रहेको र १८ गतेदेखि पूर्वी नेपाल हुँदै बर्षाको अत्यधिक संभावना रहेको उल्लेख गर्नुभएको छ ।
भारतको मौसम बिभागले असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बङ्गाल, बिहारमा अत्यधिक बर्षाको चेतावनी जारी गरिसकेको छ । नेपालमा भने असोजको १७ गतेराति देखि कोशी प्रदेशबाट प्रवेश गरि असोज १९/२० गतेसम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेश को तल्लो भाग सम्म पुग्ने देखिएको उप्रेतीले जानकारी दिनुभयो ।
दशैंमा घर गएकाहरु फर्कने समय भएकोले फर्कनु अघि मौसम र बाटोको अबस्थाबारेमा जानकारी लिन मौसमबिद्को सुझाव छ । यस्तै धान लगायतका बाली भित्राउने समय भएकोले १७ गतेदेखी ४–५ दिन बाली नभित्राउन मौसमबिद्को सुझाव छ ।













