काठमाण्डौ । हिजो दिउँसो र राति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने रोकिएको छ । पछिल्लो १२ घण्टामा गोरखा, तनहुँ, लमजुङ, दाङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेका ठाउँका खोला, नदीहरुमा बाढी आएको छ ।



महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँ, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै ठाउँ तथा बाँकी भू–भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अहिले देशभर मनसुनी वायूको प्रभाव कमजोर रहे पनि स्थानीय वायूको प्रभाव रहेको छ । मनसुनको अवधि पनि कायमै रहेकाले दशैँको मुख्य दिनमा पनि पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।





