धनगढी । भदौ २४ गतेको आन्दोलनका क्रममा भएको आगजनीबाट कैलालीको गोदावरी नगरपालिका भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भएको सो नगरपालिका भवनमा आगलागी हुँदा शिक्षा, स्वास्थ्य र जिन्सी शाखा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस घटनापछि नगरपालिकाका सम्पूर्ण सेवा ठप्प भएका छन्।

जेनजी युवाहरुको आन्दोलनका क्रममा कैलालीका विभिन्न सरकारी कार्यालयसँगै स्थानीय तहमा समेत आगजनी गरिएको थियो। आगलागीका कारण गोदावरी नगरपालिकामात्रै करिब ११ करोड रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको नगरपालिकाले जनाएको छ। भवन र सामग्रीको क्षति मूल्याङ्कनका लागि प्राविधिक टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए।

वडा कार्यालयहरुले भने सेवा प्रवाहलाई निरन्तरता दिइरहेका छन्। तर नगरपालिकाका शिक्षा, स्वास्थ्य र जिन्सी शाखा जस्तै महत्वपूर्ण सेवा ध्वस्त भएकाले विभिन्न कार्यक्रम प्रभावित भएका छन्। शिक्षक कृष्णराज पाठकका अनुसार वडास्तरका सेवाहरु उपलब्ध भएपनि नगरपालिकाबाट सञ्चालन हुने कार्यक्रम ठप्प भएकाले विशेष गरी शिक्षा क्षेत्रका योजना प्रभावित बनेका छन्।

नगरपालिकाका महत्वपुर्ण कागजात र फाइलहरु समेत जलेर नष्ट भएपछि सेवा सञ्चालनमा अन्यौलता बढेको छ। यद्यपि वडा कार्यालयहरु क्षति हुनबाट जोगिएका कारण वडास्तरका कामकाज भने निरन्तर भइरहेका छन्। वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिंह बडैलाले पालिकाका सेवा पुनः सञ्चालन गर्न आवश्यक तयारी थालिएको बताए।

गोदावरी नगरपालिकासँगै कैलालीकै गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा पनि आन्दोलनका क्रममा आगजनी भएको थियो। आगलागीपछि नगरपालिका भवनभित्र रहेका सामग्री चोरी समेत भएकाले, स्थानिय तहहरुले चोरी गरिएका सामान फिर्ता गर्न आग्रह गरेका छन्।