काठमाडौँ । सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीले नेपालका विभिन्न जिल्लाबाट मानिसहरू भारत लगेर मिर्गौला तस्करीमा संलग्न भएको खुलेको छ छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार सुनकोशी गाउँपालिका-७ निवासी ३८ वर्षीय भण्डारी सय जनाभन्दा बढी मिर्गौला बेचबिखनमा संलग्न भएका थिए ।



ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) कृष्णप्रसाद पंगेनीले भण्डारीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल र विभिन्न क्लिनिकका कर्मचारी तथा एजेन्टसँग समन्वय गरी २५ जना व्यक्तिको मृगौला झिक्न लगाई पैसा लिएको स्वीकार गरेका छन् । तर प्रहरीले भने भण्डारी एक सयभन्दा धेरै व्यक्तिहरूको मिर्गौला बेचबिखनमा संलग्न भएको कुरा आफूहरूलाई जानकारीमा आएको बताएको छ ।



उनीसहितको टोलीले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाका विपन्न व्यक्तिलाई प्रलोभन दिएर दिल्ली पुर्याउने गरेको थियो । एसएसपी पंगेनीले घटनाबारे जानकारी दिँदै भने, ‘उनीहरूले एउटा मिर्गौला दिँदैमा मानिस मर्दैन र स्वास्थ्यमा कुनै असर गर्दैन भनी संगठित रुपमा टिम परिचालन गरी प्रलोभन दिन लगाउने र मृगौला दिने मानिस खोजेबापत प्रतिव्यक्ति ५० हजार दिने गरेको पाइयो ।’



त्यसरी खोजेर लगिएका व्यक्तिलाई नेपालबाटै गाडी व्यवस्था गरी दिल्लीसम्म पुर्याउने गरिएको समेत प्रहरीले जनाएको छ । ती व्यक्तिलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटेलमा लगेर राख्ने र खाने बस्ने व्यवस्था मिलाइएको थियो ।
मिर्गौला निकाल्नुअघि होटेलबाट निकाली आँखामा पट्टी लगाई गाडीमा राखी अज्ञातस्थलमा लगी इन्जेक्सन लगाएर बेहोस गराइने गरेको पनि प्रहरीले जनाएको छ । गिरोहले मिर्गौला झिकेपछि ३/४ दिन अस्पताल राखेर गाडीमै नेपाल पठाउँथ्यो । अस्पतालका कर्मचारी होटेलमै आएर रगतको नमुना संकलन गर्थ्यो । ५ जना पीडितले जाहेरी दिइसकेका छन् । यस घटनामा प्रहरीले ४ वटा मुद्दा दर्ता गरिसकेको जनाएको छ । पीडितहरूका अनुसार भण्डारीको टिमले एक जना व्यक्तिलाई मिर्गौला दिएबापत ६ लाख नेपाली रुपैयाँ दिने लोभ देखाएको थियो । तर उक्त रकम भने नदिएको उनीहरूले जाहेरीमा उल्लेख गरेका छन् ।
भण्डारीले भारतको आधारकार्डसमेत बनाइसकेका थिए । उनी ३ वर्षदेखि लाजपत नगरमै बसोबास गर्दै आएका थिए । भण्डारीलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको जनाएको छ । त्यस्तै उनका सहयोगीका रूपमा काम गरेका सुजन भारतीलाई पनि प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । प्रहरीसँगको बयानमा भारतीले आफूले समेत मिर्गौला बेचेको बताएका छन् । उनी दिल्लीमै बसेर भण्डारीको सहयोगीका रूपमा काम गर्थे । नेपालबाट मिर्गौला दिन जाने नेपालीहरूको ‘रेखदेख र व्यवस्था’ मा खटिन्थे उनी । एक जनाको मिर्गोला निकालेपछि उनले प्रतिव्यक्ति ४० हजार नेपाली रुपैयाँ लिन्थे ।
‘अपरेसन लाइफ सिल्ड’ बाट तोडिएको थियो तस्करको जालो
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले मानव अंग खरिदबिक्रीमा संलग्न गिरोहलाई पक्राउ गर्न ‘अपरेसन लाइफ सिल्ड’ नै चलाएको थियो । अपरेसन सुरु गरेको केही दिनमै गिरोहका सदस्य पक्राउ परेको ब्युरोका सूचना अधिकारी एसपी नरेन्द्र कुँवरले जानकारी दिए । काठमाडौं,नुवाकोट र काभ्रेपलाञ्चोकट मिर्गौला झिक्ने कार्यमा संलग्न ३ जना सदस्य राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राजकुमार नेपालीलगायतलाई साउन २० गते पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूकै बयानका आधारमा दिल्लीमा मिर्गौला कारोबारको अवैध सञ्जाल गरेका श्यामकृष्ण भण्डारीसम्म प्रहरी पुगेको हो ।
पक्राउ परेकाविरुद्ध संगठित अपराध ऐनअन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ । सो ऐनअन्तर्गत मानव बेचबिखन र गैरकानुनी रूपमा अंग बेचबिखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताए । संगठित अपराध निवारण ऐन २०७० बमोजिम सम्बद्ध कसूरमा तोकिएको सजायमा डेढी बढाई सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
यसअघि सिन्धुलीका सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल प्रहरीको सम्पर्कमा आएपछि अनुसन्धान गर्दै जाँदा राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राजकुमार नेपाली पक्राउ परेका थिए ।
‘होटलमा सजिलो काम पाइने भन्दै भारत पुर्याएका मान्छेले नै मेरो मिर्गौला झिक्दिए,’ भुजेलले प्रहरीसँगको बयानमा भनेका छन्,‘६ लाख दिन्छु भन्नेका थिए । हालसम्म लागेको सम्पूर्ण खर्च ब्यहोर्नु पर्ने भनी डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा मसहित ५ जनाको मिर्गौला झिकियो । मिर्गौला निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाए पनि मलाई पैसा दिएनन् ।’ उनका अनुसार साउन ९ गते उनको मिर्गौला झिकिएको थियो ।
पीडित भुजेललाई समिर नेपाली र राकेश नेपालीले अपार्टमेन्टमा पुर्याउने र रेखदेख गर्ने काम गरेको जाहेरीमा उल्लेख छ । राजकुमार परियार र समिर नेपालीले उनीसहित पाँच जनालाई मिर्गौला झिकेपछि नेपाल ल्याएर छाडेको भुजेलले प्रहरीलाई बयान दिएका छन् ।


