काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदका लागि अब अध्ययन समिति बनाएर अनुकूल समयमा गर्ने बताउनुभएको छ ।



हरेक दुई वर्षको अन्तरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ साल मङ्सिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर मन्त्री चौधरीको ढिलासुस्ती र चासोमा नपर्दा कर्णाली प्रदेशमा तय भएको दशौं खेलकुद हुन नसकेको हो ।



युवा तथा खेलकुद मन्त्रालयमा हिजो भएको वार्षिक कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्री चौधरीले समयमा नै पूर्वाधार निर्माण हुन नसक्दा दशौं राष्ट्रिय खेलकुद गर्न नसकिएको दाबी गर्नुभयो ।



त्यस्तै मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट कानूनसम्मत रूपमा आयोजना होस् भन्ने आफ्नो चाहना रहेको र रोक्न आफूले कुनै पनि गतिविधि नगरेको स्पष्ट पार्नुभयो ।
एनपीएलमा भ्रष्टाचार भएको विषयमा छानबिन समिति गठन गरिएको र त्यो समितिले छिटै प्रतिवेदन पेश गर्ने मन्त्री चौधरीको भनाइ छ ।


