दाङ । योगको महत्वलाई विश्वव्यापी बनाउने लक्ष्य सहित दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुने भएको छ। विभिन्न ५० बढी मुलुकका योग साधकको सहभागिता रहने सम्मेलनलाई नेपालको पर्यटन प्रवर्धनका लागि समेत विशेष प्राथमिकतामा राखिएको छ।

आगामी असोज २५ देखि २७ गते सम्म नेपाल संस्कृत विश्व विद्यालयले आयोजना गर्ने योग सम्मेलनमा भारत सहित अमेरिका, ब्राजिल, कम्बोडिया लगायत ५० देशका योग साधकहरूलाई भित्र्याउने लक्ष्य राखिएको छ ।

‘यो सम्मेलन मूलतः योगको महत्त्व र यसको विश्व व्यापी प्रचारका लागि आयोजना गरिएको हो,’ सम्मेलन मूल आयोजक समितिका सदस्य किशोर चन्द्र गौतमले भने ‘यसका साथै दाङ सहित लुम्बिनी प्रदेश र समग्र नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने लक्ष्य सम्मेलनको हो ।’ गौतमका अनुसार यो सम्मेलनमा योगको सर्वकालिक महत्त्व तथा यसका फाइदाका विषयमा आमन्त्रित योगका जानकारहरूले कार्यपत्र प्रस्तुत गर्ने छन् । यसै गरी विभिन्न देशका योग साधकहरूले योगाशन प्रस्तुत गर्नेछन् ।

‘योगको सर्वकालिक महत्वका बारेमा कार्यपत्र प्रस्तुत हुने छन्’ गौतमले भने ‘यसका साथै विभिन्न मुलुकबाट आउने योग साधकहरूले योगका विभिन्न आसनहरू प्रस्तुत गर्नेछन् ।’

जिल्लामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय योग सम्मेलनलाई जिल्लाको पर्यटन प्रवर्धनका हिसाबले समेत निकै उत्कृष्ट कदमका रूपमा हेरिएको छ । सम्मेलनमा सहभागी हुन आउने बाह्य योग साधकहरूलाई जिल्लाका पर्यटकीय स्थल सहित लुम्बिनी प्रदेशका पर्यटकीय स्थल तथा मुलुककै प्रमुख गन्तव्य स्थल सम्म पुर्‍याउने लक्ष्य राखिएको छ । गौतमका अनुसार जिल्लाका प्रमुख गन्तव्य स्थलहरूमा आयोजक स्वयंले नै घुमाउने छ भने जिल्ला बाहिरका पर्यटकीय स्थलहरू घुमाउनका लागि ट्राभल एजेन्सीहरू सँग समन्वय गरिने भएको छ । ‘जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूमा मूल आयोजक समिति आफैले नै बाह्य योग साधकहरूलाई घुमाउने छ,’ गौतमले भने‘जिल्ला बाहिरका पर्यटकीय स्थलहरू सम्म घुमाउनका लागि भने ट्राभल एजेन्सीहरुसंग समन्वय गरिने छ ।’

सम्मेलनमा सहभागी हुन आउने योग साधकहरूका लागि टुर प्याकेज तय गरिएको छ । जिल्लाका प्रमुख पर्यटकीय स्थल सँगै गुल्मीको रुरु क्षेत्र हुँदै मुक्तिनाथ, पशुपति नाथ दर्शनको प्याकेज तयार पारिने छ । सम्मेलनमा बाह्य मुलुकबाट मात्रै ५ सय योगसाधकहरु सहभागी गराउने लक्ष्य आयोजकको छ ।

५० बढी राष्ट्रबाट योग साधकहरू सहभागी हुने सम्मेलनलाई लुम्बिनी प्रदेश सरकारले पनि यहाँको पर्यटन प्रवर्धनका लागि ठुलो टेवा पुग्ने अवसरका रूपमा लिएको छ । फलतः प्रदेश सरकारले समेत यो सम्मेलनलाई सफल पार्न सहकार्यमा जोडिने भएको छ । सम्मेलन मूल आयोजक समितिले शुक्रवार प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई भेट गरी सम्मेलनका बारेमा जानकारी गराएको छ ।

उक्त छलफलमा मन्त्री न्यौपानेले अन्तर्राष्ट्रिय योग सम्मेलनको आयोजना गरिनु लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि ठुलो टेवा पुर्‍याउने कदम भएको भन्दै प्रदेश सरकारले यो सम्मेलनलाई सघाउने बताए । ‘यो सम्मेलन केवल योग अभ्यास वा योग प्रदर्शनीका लागि मात्रै हैन, पर्यटन प्रवर्धनका लागि समेत यो सम्मेलन उत्तिकै महत्त्वपूर्ण छ ,’मन्त्री न्यौपानेले भने ‘लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने यो सम्मेलनलाई सफल पार्ने दायित्व प्रदेश सरकारको नि उत्तिकै रहन्छ, यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग, समन्वयको भूमिका गम्भीर रूपमा निर्वाह गर्नेछ ।’

मन्त्री न्यौपानेले पर्यटन प्रवर्धनका लागि ‘घुम्न जाऊँ बर्दिया’, पाणिनि सम्मेलन जस्ता कार्यक्रमहरू गरेको उल्लेख गर्दै दाङमा आयोजना हुने योग सम्मेलनलाई पनि सरकारले उत्तिकै महत्वका साथ हेर्ने बताए ।