काठमाण्डाै । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको बैठकले आउँदाे आर्थिक वर्षका लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिनुभयाे ।

बोर्डले सुरक्षित, भरपर्दो र आकर्षण पर्यटकीयस्थलको विकास गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित आफ्नो बजेट तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । बजेट उपसमिति संयोजक भण्डारीले भन्नुभयो, ‘चालू आर्थिक वर्षमा बोर्डले नेपालमा पर्यटक आगमन कम्तीमा १५ प्रतिशतले वृद्धि गर्दै समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने लक्ष्य लिएको छ ।’

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने क्षेत्र र कार्यक्रममा बजेट केन्द्रित रहेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी रोजगारीका अवसर सिर्जना र पर्यटन क्षेत्रको दिगो विकासका लागि बजेट उपयोगी हुने बताउनुभयो ।

यसैगरी चालू आर्थिक वर्षमा नेपाल आसियन पर्यटन वर्ष २०२६ को प्रवर्द्धन गर्ने, गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने उल्लेख छ । बोर्डले चालू आर्थिक वर्षमा कम्तीमा ५० वटा स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रम, पर्यटन व्यवसायका लागि आवश्यक थप पाँच हजार जनशक्ति उत्पादन र पर्यटनको विस्तारीकरणका लागि कम्तीमा २५ वटा नयाँ पर्यटन पूर्वाधार संरक्षण गर्ने जनाएको छ ।

बोर्डको सेवा विस्तारका लागि कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने र भारतमा कार्यालय खोल्ने पनि जनाइएको छ । भारत नेपालको प्रमुख पर्यटक स्रोतबजार हाे । भारतबाट सन् २०२४ मा मात्र चार लाख जनाभन्दा धेरै पर्यटक नेपाल आएका थिए । भारतीय बजारलाई थप प्रभावकारी बनाउन, दिल्ली वा अन्य प्रमुख शहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

यसका साथै प्रादेशिक कार्यालय स्थापना गर्नेसमेत यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धनका लागि ४३ करोड ६१ लाख रुपैयाँ विजियोजन गरेको छ । यसैगरी जनसम्पर्क तथा प्रचारप्रसारका लागि १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि दुई करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि १८ करोड ६३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालनका लागि ११ करोड ६६ लाख, विशेष प्रवर्द्धनात्मक कार्यक्रम बुद्धिस्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम् मार्टका लागि चार करोड ६२ लाख रुपैयाँ विनियोजन भएको छ ।

बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अस्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का, मलेशिया, थाइल्यान्ड र युरोपका विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘नेपाल : लाइफ टाइम एक्सपिरियन्स’ भन्ने नारालाई आधार मानेर विश्वका प्रमुख पर्यटन मेलामा सहभागिता जनाउने, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुरजस्ता कार्यक्रम प्राथमिकतामा राखेको छ ।

अन्तर्राष्ट्रिय बजारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि बजेट विनियोजन भएको छ । विशेषगरी प्रदेश सरकार, पालिका र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । यसका लागि सुदूरपश्चिम, कर्णाली र पूर्वी नेपालका उदियमान गन्तव्यलाई लक्षित गरिएको छ ।

बोर्डको बजेटमा डिजिटल पूर्वाधार सुदृढीकरण, अनुसन्धान तथा तथ्याङ्क प्रणाली सशक्तीकरण र पर्यटनसम्बन्धी जनशक्ति विकासका कार्यक्रमसमेत समावेश छन् । पर्यटनसम्बन्धी अध्ययन, तालिम र विज्ञ कार्यक्रमका लागि छुट्टै रकम छुट्याइएको छ । अन्तर्राष्ट्रिय मेला महोत्सव, सेल्स मिसन, डिजिटल मिडिया अभियान, सिने टुरिजम, डायस्पोरा कनेक्ट, ब्रान्डिङ र प्रभावशाली कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बजेटमा उल्लेख छ ।

भौतिक पूर्वाधार निर्माण, पदमार्गको सुधार, नमस्ते सेन्टर स्थापना, बौद्ध गन्तव्य प्रवर्द्धन, पर्वतीय क्षेत्रका लागि तालिम, ग्रीन हस्पिटलिटी प्रमाणीकरण, घरेलु पर्यटन प्रवर्द्धन, पर्यटन टुर अपरेटर तालिम, भाषा र डिजिटल सीपसम्बन्धी तालिमलगायत कार्यक्रममार्फत गन्तव्य विकास र स्थानीय सशक्तिकरणलाई बलियो बनाउने उद्देश्य यस वर्षको बजेटले लिएको छ । मिथिला कला, प्याराग्लाइडिङ प्रतियोगिता, हात्ती महोत्सव, पर्वतीय र जङ्गल सफारीजस्ता सांस्कृतिक तथा साहसिक गन्तव्यलाई पनि बजेटमार्फत प्रवर्द्धन गरिने बोर्डका सीईओ जोशीले बताउनुभयो ।

पोखरा कार्यालयमार्फत पोखरा ट्राभल मार्ट, सडक महोत्सव, अन्नपूर्ण तथा मानस्लु पदमार्ग प्रवर्द्धन, पर्यटक प्रहरी तालिम, बेसिक तथा एड्भान्स क्यानियोनिङ तालिम र पर्वतीय सङ्ग्रहालय प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । भारत, चीन र दक्षिण एशियाली देशमा पनि प्रचार कार्यक्रम सञ्चालन गरिने भएको छ । बजेटमार्फत् दिगो पर्यटनका लागि पर्यटन सूचना व्यवस्थापन प्रणाली (टिम्स) को प्रभावकारी कार्यान्वयन, विपद् व्यवस्थापन कोष, जलवायु परिवर्तनमा संवेदनशीलता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य विस्तारजस्ता दिगो पर्यटनका पक्षलाई ध्यानमा राखेर आउँदाे दशकलाई दिगो पर्यटन विकासको आधारशिला निर्माण गर्ने रणनीतिमा बजेट केन्द्रित गरेको स्पष्ट पारेको छ ।

सीईओ जोशीले भन्नुभयो, ‘यो बजेट केवल रकमको हिसाब मात्र होइन, यो नेपालको पर्यटन पुनर्जागरणको रोडम्याप हो । हामीले बजार अनुसारको रणनीति बनाएका छौँं, स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रलाई दिगो रूपमा विस्तार गर्नेछौँ ।’

बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पनि आउँदा दिनमा निजी क्षेत्रको सहभागिता, पालिकाको समन्वय र अन्तर्राष्ट्रिय साझेदारीको माध्यमबाट ‘स्मार्ट टुरिजम नेपाल’ को अवधारणा कार्यान्वयन गरिने बताउनुभएको छ ।