धनगढी । सुदूरपश्चिम प्रदेश र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबिच आज निर्जीवन बीमाको सम्बन्धमा अन्तरक्रिया भएको छ।



राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा निर्जीवन बीमा, नेपालमा यसको अवस्था र बीमा लेखहरू लगायतको विषयमा छलफल भएको थियो। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले नेपालको बीमा बजार, बीमाको अवस्था, प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बीमालेख र यसले समेट्ने जोखिम लगायतको विषयमा जानकारी दिए।



नेपालको बीमा बजार, राष्ट्रिय बीमा कम्पनी, यसको उद्देश्य र कम्पनीका रक्षावरण गर्ने जोखिम तथा सीमा लेखहरू, प्रदेश सरकारसँग सहकार्य गर्न सकिने प्रमुख बीमा सेवाहरू तथा प्रदेश सरकारसँग राष्ट्रिय बीमा कम्पनीको अपेक्षालगायत विषयमा कोइरालाले प्रस्तुतीकरण गरेका थिए।



कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो।


