पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार साँझ वीरगन्जको सुख्खा बन्दरगाहदेखि परवानीपुरसम्मको सडकखण्डमा छड्के अनुगमन गरेका छन् । त्यसक्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएकोभन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमन गरेका हुन् ।

सुख्खा बन्दरगाहदेखि परवानीपुरसम्मको सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाटमा अवैध असुली भइरहेको गुनासो आएपछि तीन जनालाई तत्कालै पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको थियो । मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता अपनाउने बताए ।

‘जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो,’ छड्केपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, ‘अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुर्व्यवहार अब सह्य हुँदैन ।’

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पक्राउ परेकाहरू सम्बन्धमा अनुसन्धान जारी रहेको र उनीहरुको नाम तथा अन्य विवरण पछि सार्वजनिक गरिने बताए ।