धनगढी । चलचित्र पत्रकार संघ–नेपाल सुदूरपश्चिमको आयोजनामा यही जेठ ३१ गते शनिबार धनगढीको रुवस होटलमा ‘सिनेमा संवाद’ कार्यक्रम हुने भएको छ । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्पराज जोशीले कार्यक्रमबारे जानकारी दिँदै यो एक बहस, संवाद र सांस्कृतिक आदान–प्रदानको खुला मञ्च हुने बताए।

कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाज सम्बन्धबारे गहिरो छलफल गरिने जनाइएको छ। ‘यो केवल चलचित्र हेर्ने कार्यक्रम होइन, यो समाजमा विद्यमान विविध मुद्दाहरूलाई चलचित्रमार्फत प्रस्तुत गर्ने र छलफल गर्ने मञ्च हो,’ अध्यक्ष जोशीले भने। सुदूरपश्चिममा बढ्दो चलचित्रप्रति चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।

‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन, यो समाजको ऐना हो, जसले यथार्थ, सपना, संघर्ष र सामाजिक परिवर्तनलाई चित्रण गर्छ,’ जोशीले थपे। आजको पुस्ता चलचित्रप्रति आकर्षित भए पनि यसको गहिरो पक्ष, विशेषतः सन्देश, निर्माण प्रक्रिया र सामाजिक प्रभावबारे खुला संवादको अभाव रहेको आयोजकको भनाइ छ।

‘सिनेमा संवाद’ले यही अभाव पूर्ति गर्ने प्रयास गर्नेछ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त, उपासना सिंह ठकुरीलगायतका कलाकार सहभागी हुनेछन्। सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको यो कार्यक्रम सिनेमा बुझ्न र समाजसँग जोड्न चाहने सबैका लागि सुनौलो अवसर हुने आयोजकले जनाएको छ।