काठमाण्डौ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै यातायात व्यवसायीहरू आन्दोलित भएका छन् ।

 सार्वजनिक यातायात बचाऊ केन्द्रीय महासंघ, मजदुर संघ/संगठनहरूको केन्द्रीय संघर्ष समितिले शनिबार साढे ११ देखि साढे १२ बजेसम्म एक घण्टा २७ किलोमिटर चक्रपथ सडकखण्ड र भक्तपुरको मुख्य सडकखण्डमा सवारीसाधनहरू (ट्याक्सी, बस, ट्रक) लाइनबद्व गरेर चक्काजाम गरेको हो । समितिले १८ जेठमा माइतीघर मण्डलामा सम्पूर्ण यातायात व्यवसायीहरू बृहत प्रदर्शनमा उत्रिने पनि चेतावनी दिएको छ ।

संघर्ष समितिका अनुसार सवारी ऐन २०४९ को परिशिष्ट २ को दफा ५ र २२ दफा १२ को विपरीत हुने गरी निजीक्षेत्रलाई कालो प्लेटमा सवारी सञ्चालनको अनुमति दिनु सार्वजनिक यातायात क्षेत्रको विनाशको षड्यन्त्र हो ।

गण्डकी प्रदेश सरकारले १ जेठ २०८२ मा  निजी सवारीसाधनलाई कालो प्लेटमा भाडामा सञ्चालन गर्न अनुमति दिएकोमा पनि समितिले आपत्ति जनाएको छ ।