धनगढी । जिल्लाको धनगढी उपमहानगरपालिका ३ भन्सार रोडमा रहेको  दून एकेडेमीले दोस्रो विद्यालयस्तरीय कविता महोत्सव आयोजना गर्ने जनाएको छ। विद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त महोत्सवको  आयोजना गर्नेऔपचारिक घोषणा गरिएको हो।

CP-HOSPITAL

पहिलो संस्करणको सफलतापछि यस वर्षको महोत्सव अझ व्यापक रूपले सम्पन्न गरिने विद्यालयले जनाएको छ। विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षाविद् तथा साहित्यप्रेमीहरूको सहभागितामा हुने महोत्सवले पठन–संस्कृति, भाषिक अभिव्यक्ति, र साहित्यिक चेतनाको विकास गर्ने उद्देश्य लिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल आर पी उपाध्यायले महोत्सव विद्यार्थीहरूमा सिर्जनात्मकता अभिवृद्धि गर्ने, भाषिक सीपको विकास गर्ने तथा साहित्यप्रतिको रुचि जगाउने महत्वपूर्ण अवसर भएको बताए। उनका अनुसार पछिल्ला दिनहरूमा विद्यार्थीहरूमा साहित्यप्रतिको आकर्षण घट्दो अवस्थामा रहेकाले यस किसिमको कार्यक्रम आवश्यक भएको हो।

कार्यक्रम अन्तर्गत कविता लेखन कार्यशाला, विद्यार्थीहरूको कविता वाचन, साहित्यिक सत्रहरू, र विविध सांस्कृतिक कार्यक्रमहरू रहनेछन्।महोत्सवको पहिलो दिन जेठ १५ गते दून एकेडेमीमै उद्घाटन र कार्यशाला सञ्चालन हुनेछ भने दोस्रो  जेठ १६ गते ओम पाटी प्यालेसमा समापनसहित प्रमुख अतिथिहरूको उपस्थिति रहनेछ।

प्रिन्सिपल उपाध्यायले महोत्सवलाई प्रतियोगिता बनाउनेभन्दा पनि सहभागीमैत्री बनाउन खोजिएको स्पष्ट पार्दै भने, साहित्यमा लागेका विद्यार्थीहरू नकारात्मक क्रियाकलापबाट टाढा रहने र मानसिक रूपमा सशक्त हुने देखिन्छ, त्यसैले हामीले प्रतिस्पर्धाभन्दा सहभागितालाई प्राथमिकता दिएका छौं।