भजनी । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुका लागि सी जी फुड्स कम्पनीले भजनी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको पहलमा बाढी पीडितहरुका लागि सि.जि फुड्स इन्टर्प्राईजेज प्रा.लिका एरिया सेल्स म्यानेजर कमल धामी र कैलाली क्षेत्र -३ का प्रतिनिधि सभा सदस्य माननीय गंगा राम चौधरीले संयुक्त रुपमा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन ।

विगत केही दिन देखि परेको अविरल वर्षाका कारण डुबानमा परेका भजनी क्षेत्रका बाढी पीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यले वाईवाई चाउचाउ २५ कार्टुन, वाईवाई भुजिया २५ बोरा नगरपालिकालाई हस्तान्तरण गरेको हो । थोरै मात्रामा भएपनि बाढी पीडितहरुलाई सहयोग गर्न पाउँदा खुसी भएको सी जी फुड्सका एरिया सेल्स म्यानेजर कमल धामीले पश्चिम दर्पणलाई बताउनु भयो । यस्तै वातावरण संरक्षण नेपाल लम्की चुहा ९ कैलालीले पनि नगरपालिकालाई बोटल पानी ७० कार्टुन सहयोग गरेको संस्थाका प्रतिनिधि राम जीवन चौधरीले जानकारी गराउनु भयो ।

यता नगरपालिकाले बाढी पीडितहरुको आवश्यक सहयोगका लागि सम्पूर्ण इच्छुक सरकारी गैरसरकारी सहयोगी संघ – संस्था, निजी क्षेत्र, सहकारी संस्था तथा नागरिक समाजलाई सहयोगको अपील गरेको छ ।