काठमाण्डाै । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाइको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गएको वर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी झन्डै ४९ प्रतिशतले बढेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या सन् २०२३ मा ६ हजार २ सय ५५ रहेकोमा सन् २०२४ मा सो सङ्ख्या झन्डै ४९ प्रतिशतले बढेर ९ हजार ३ सय ४ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

गएको वर्ष प्राप्त प्रतिवेदनमध्ये १ हजार ८ सय ९४ वटा प्रतिवेदन विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने अनुसन्धानकारी निकाय तथा नियामकीय कारबाहीका लागि पठाइएको राष्ट्र बैंकले जनाएको छ । यसरी पठाइएका प्रतिवेदनमध्ये ८ सय ८ वटा प्रतिवेदनमध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सूचक संस्थाहरूले राष्ट्र बैंकमा सन् २०२३ मा १७ लाख ८३ हजार १ सय ८३ वटा सीमा कारोबारको विवरण पेश गरेकामा गएको वर्ष यो सङ्ख्या १९ लाख ७२ हजार ८ सय ५५ पुगेको छ । त्यस्तै सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरूको सङ्ख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

‘सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने र अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा सङ्ख्या सन् २०२३ को अन्त्यमा १ हजार ४ सय ९६ रहेकामा सन् २०२४ को अन्त्यमा एक हजार ९०५ पुगेको छ’, राष्ट्र बैंकले भनेको छ ।