काठमाण्डौ । पाटनको कृष्ण मन्दिर वरपर धित मर्ने गरी अँगालो मार्न नपाएर लाखापाखा लागेका ठिटाठिटीहरू मलिन अनुहार बनाएर अँध्यारो कुनामा भेला भए । ‘तिमीहरूलाई पनि सुड्डोहरूले लखेटे हो ?’



‘हो नि, कस्तो मज्जाले अँगालोमा बेरिएर आनन्द लिइरहेको बेला सुड्डोहरू मन्दिरमा बसेर के गरेको हँ भन्दै आए । आफ्नो संसार भुलेर अर्कै दुनियाँमा पुगेको बेला पहिले त वास्ता पनि गरिएन । पछि त ठिसहरूले अति नै डिस्टर्ब गरे भन्या । मन्दिरको टुँडालमा हेर न, त्यसकै सिको गर्या भनेर सुड्डोहरूलाई थुतुनोभरीको जवाफ दिन मन थियो । के गर्नु बस्नै दिएनन् यार । बेइज्जत गरेर पठाए । लास्टै झुर भयो नि ।’



‘हैन मन्दिरमा एकछिन बसेर पनि डेट गर्न नपाउने भन्ने हुन्छ ? यो त अति भयो नि यार ।’
‘त्यही त, पार्कतिर जाउँ भने चिनेका मान्छेले देख्ने डर, त्यसमाथि पार्कमा ठिटाठिटीहरूको भन्दा सुड्डासुड्डीहरूकै जोडी धेरै देखिन्छ । फिलिम हलमा पनि डिस्टर्ब नै हुने, त्यसमाथि सधैँ पैसा तिरेर हलतिर जान पनि सकिँदैन । होटलतिर जाँदा पनि पुलिस मामाहरूले देखिसहँदैनन्, छापा हानिहाल्छन् । बाटोको छेउकुनामा यसो उभिन खोज्यो, सुड्डासुड्डीहरू नै घुरेर हेर्छन् । त्यसमाथि बाटो छेउछाउमा आफ्नै बाबुआमाले देख्ने डर । हैन हामी जोडीहरू लभ गर्न जाने ठाउँ चाहिँ कहाँ त ?’
‘अस्तिताकासम्म यो देशमा पढ्ने र काम गर्ने वातावरण मात्रै छैन जस्तो लाग्थ्यो । अब त लभ गर्ने वातावरण पनि छैन जस्तो लाग्न थाल्यो यार ।’
‘केटा र केटी सँगसँगै बस्दा अनैतिक रे, त्यो पनि कृष्ण मन्दिर अघिल्तिर ! हैन सुड्डोहरूलाई कृष्णलीला नै थाहा छैन कि क्या हो ?’


‘कम्तीमा हामीले मन्दिरमा गएर देवी–देवताका लीला र चरित्र त पछ्याएका छौँ नि । देवीदेवताको सिको गरे भनेर हामीलाई सम्मान गर्नुपर्नेमा उल्टै लखेट्छन् भन्या ।’
‘हामीलाई अहिले लखेट्ने तिनै सुड्डासुड्डीहरूले पनि बैँसको बेला यिनै मन्दिर र पार्कतिर लुकिछिपी अँगालो मारेकै थिए क्यारे । अहिले बैँस सकियो अनि हाम्रो रिस गर्छन् ठिसहरू ।’
‘बैँस सकिएर पनि यिनीहरूका काण्ड हामीलाई थाहा नभएको हो र ? कहिले मै हुँ भन्ने नेता रक्सीको तालमा साँझ परेपछि कान्छीको कोठामा छिरेको पनि सुनेकै हो । आफूलाई ठूलै कर्मचारी भन्नेको रोमान्स पनि टिकटकमा हेरेकै हो ।’
‘यो त सुनेको र देखेको मात्रै भयो साथी । हामीले थाहा नपाएका सुड्डाहरूका काण्ड कति होलान् कति । पहिले नक्कली शरणार्थी भने, अहिले नक्कली सुन भन्दैछन् । यी नक्कली धन्दा गर्नेहरूले घरकी सक्कली श्रीमतीलाई भन्दा बढी बाहिरका नक्कली ग्रलफेन्डहरूलाई पोसेका होलान् ।’

‘सुड्डोहरूका जस्ता काण्ड हामीले त गरेका छैनौँ नि । मनपर्ने मान्छेसँग एकछिन तन साट्न मन लाग्यो । अन्त जाने ठाउँ भएन, मन्दिर आयौँ । सुड्डाहरू मुखले त अन्जु पन्तको गीत तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ गुनगुनाउँछन्, तर पानी पिउन चाहिँ दिँदैनन् । पापी सुड्डाहरू !
‘त्यही त भन्या, हामीले अँगालो मारेर तिनीहरूको के बिग्रियो त ? मन्दिरमा आउनु, दर्शन गर्नु, जानु । हामीले दर्शन गर्ने ठाउँमा बसेर अँगालो मारेका त छैनौँ नि ? मन्दिरको दर्शन गर्न आउनेले हाम्रो दर्शन किन गर्नु पर्याे त ?’
‘मन्दिर गएर आफूलाई मन पर्ने मानिससँग एकछिन बस्न पनि नपाउने ? यस्तो पनि नियम हुन्छ ?’
‘मठ मन्दिरमा रासलीलाका तस्विर राखेर पूजा गर्न हुने, मन्दिरका टुँडाल र सिलिङमा कुँदिएका देवीदेवताले जे पनि गर्न हुने, अनि वरपर बसेर अँगालो मार्दैमा र गफ गर्दैमा अनैतिक रे ? देउताले गरे चमत्कार, मान्छेले गरे लछारपछार !’
‘कुखुरे बैँसले छोएका हामी अल्लारे ठिटाठिटी ठूलाबडालेझैँ मन पर्ने मान्छेलाई सुन बाँड्न पनि सक्दैनौँ, पुलिसले छापा नहान्ने लजमा गएर बस्न पनि सक्दैनौँ । कलेजमा सधैँ पढाइ हुने पनि हैन । पढाइ भए पनि आफूलाई सधैँ पढ्न मन लाग्ने हैन । कलेज गएकै मौकामा डेट गर्न पाइएन भने अरूबेला घरबाट निस्कन दिँदैनन् ।’
‘त्यसैले साथी हो अब हामी सबै डेटिङ पीडित एकजुट हुनुपर्छ । आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्छ । यो देशमा नबोल्दासम्म केही हुँदैन । नारा, जुलुस र धर्नामा नबसेसम्म केही पाइँदैन । साउती मारेर, लुकेर लभ गर्ने जमाना गयो साथीहरू । अब हामी आन्दोलनमा उत्रनुपर्छ ।’


‘हो हो अब हामी पनि माइतीघरमा गएर धर्ना बस्नुपर्छ । सधैँ थरीथरीका धर्ना र आन्दोलन भइरहने माइतीघरमा अस्तिताकासम्म त आन्दोलन गर्ने ठाउँ पाउन पनि मुस्किल थियो । अहिले खाली भएको छ । धर्ना दिने ठाउँ खाली राख्नु पनि राम्रो होइन । हामीले धर्ना दिन थाल्यौँ भने बेरोजगारहरूले पनि काम पाउँछन् । रमितेहरूले पनि ठाउँ पाउँछन् । त्यसैले साथी हो धर्ना, जुलुसका लागि नारा तय गरौँ ।’
‘कलेज त मात्रै बहाना हो, मन्दिरको डेटिङ हाम्रो चाहना हो’
‘ठूलाबडाको यौन काण्डमा रमाउने, ठिटाठिटीलाई चाहिँ मन्दिरमा पनि समाउने ?’
‘तस्करलाई सुन भर, लभरलाई गुन गर’
‘मठमन्दिर हाम्रो शान, छाना टुँडालमा हाम्रो ध्यान’
‘पढ्दा जागिर कहिले कहिले, लभ गर्नुको मज्जा तत्कालै अहिले’
‘खोलाको भङ्गालो र जोडीको अँगालो रोक्न पाइँदैन, पाइँदैन’
‘मन्दिर पार्कलाई खुला गर, लभ गर्ने न्यूनतम वातावरण कायम राख’
‘देउताले गरे चमत्कार, मान्छेले गरे किन लछारपछार ?!’
उज्यालो अनलाईन बाट