काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले विभिन्न देशका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको संस्था ‘अनररी कन्सुलर क्रोप्स नेपाल (एचसीसी–एन)’ को १६ औँ साधारण सभा र चार्टर डे–२०२३ ’ कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै जलविद्युत र पर्यटन नै मुलुकको समृद्धिको आधार भएको बताएका हुन् ।“मुलुक समृद्धिको आधार पर्यटन र जलविद्युत नै हो, यी दुई क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न प्रयास गर्नुपर्छ,” उपराष्ट्रपति यादवले भने ।

उपराष्ट्रपति यादवले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीचको आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन एचसीसीएनले गरेको सहयोग र योगदान प्रशंसनीय रहेको बताए ।‘‘एचसीसी–एनले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा नियुक्ति दिने मित्र राष्ट्रका आमजनबीचको सामीप्ययता अभिवृद्धि गर्दै दौत्य सम्बन्धलाई थप बलियो बनाउने कार्यमा अझ सबल रहने विश्वास लिएको छु ।’’ उनले भने ।

उनले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइ राख्नु आजको आवश्यकता रहेको बताए ।

उपराष्ट्रपति यादवले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्नमा यो संस्थाले सम्बन्धित राष्ट्रहरूसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्ने बताए ।