भदौ २३, कैलाली । सुदुरपस्चिम लगायत नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ। यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ। अट्वारी पर्वको अवसरमा सुदुरपस्चिम प्रदेश भरी र लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ।

हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ। दुई दिन सम्म मनाईने अट्वारी पर्व बारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ।



द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।
अर्कोथरी मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ। दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ।
अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन्। वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ।
त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ। तर, पछिल्लो समय यि र यस्ता संस्कृतीहरु लोप हुने अवस्थामा छन।
अट्वारी पर्वमा सुदुरपस्चिम प्रदेश भरी सार्वजनिक बिदा र लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ। परापूर्व कालदेखी मनाउदै आएका कला संस्कृती लोप हुने अवस्थामा पुग्न थालेका छन्। समुदाय अनुसारको फरक फरक परम्पराको संरक्षण गर्ने योजना सबैले बनाउन जरुरी छ।