भदौ १५, कैलाली । सात दशकअघि पनि सुदूरपश्चिम प्रदेश साहित्य लेखनमा अगाडि नै थियो । साहित्य सिर्जनामा कयौँ श्रष्टा सक्रिय थिए । तर, साहित्यिक गतिविधि गर्न भने न सरकारी स्तरबाट पहल हुन्थ्यो न त संघसंस्थाहरू नै सक्रिय थिए । २०१० सालमा निजी क्षेत्रबाट पहिलोपटक धनगढीमा स्थापना भयो कमलादेवी पुस्तकालय । त्यसको दुई वर्षपछि २०१२ सालमा धनगढीमै स्थापना गरिएको थियो, जनता पुस्तकालय । दुवै पुस्तकालयको उद्देश्य साहित्यिक कार्यक्रम सञ्चालन गर्ने तथा पुस्तक र पत्रपत्रिका पढ्ने थलो बनाउने थियो । उद्देश्य एउटै भएपछि २०१४ सालमा दुवै पुस्तकालयलाई मर्ज गरेर कैलाली जनपुस्तकालयको जन्म भयो ।

कैलाली जनपुस्तकालयको स्थापपना भएपछि २०४० सालसम्म जिल्ला पञ्चायत सभापति पदेन अध्यक्ष हुने व्यवस्था थियो । ०४० सालबाट पुस्तकालयले आजीवन सदस्य बनाउने र तीनैमध्येबाट अध्यक्ष चयन गर्न थालियो । त्यसपछि कैलाली जनपुस्तकालयको पहिलो अध्यक्ष भए, साहित्यकार देवकान्त पन्त । आजीवन सदस्यबाट कार्यसमिति बन्न थालेपछि जनपुस्तकालयले गतिविधि बढाउन थाल्यो । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुस्तक, पत्रपत्रिका खरिद गर्दै पाठकसमक्ष पस्किन थाल्यो ।

उत्कृष्ट साहित्यकारलाई सम्मान, आर्थिक अवस्था कमजोर भएका साहित्यकारलाई पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग, साहित्यिक रचनाहरूको प्रकाशन तथा साहित्यकारको जन्मजयन्ती मनाउने लगायतका कार्यमा तल्लीन भयो कैलाली जनपुस्तकालय । कैलाली जनपुस्तकालयको स्थापना भएपछि अहिले त्यसैको जगमा सुदूरपश्चिमाञ्चल साहित्य समाजलगायतका थुप्रै साहित्यिक संस्थाको जन्म भएको छ । जसले प्रदेशका ९ वटै जिल्लामा साहित्यिक गतिविधि बढ्न थालेका छन् ।

साहित्यकार सुवास भण्डारी भन्छन्, ‘०६१-६२ सालमा प्लस टु अध्ययनका क्रममा उपयुक्त वातावरणमा पढ्ने थलो भनेकै कैलाली जनपुस्तकालयमा पाइन्थ्यो । सो समयमा स्थानीय र राष्ट्रियस्तरका पत्रपत्रिका अध्ययनका लागि हामी दैनिक जनपुस्तकालयमा पुग्ने गरेका थियौँ ।’ कैलाली जनपुस्तकालयले अहिले आफ्नो दायरा बढाएको खुसी छन्, भण्डारी । ‘अहिले त जनपुस्तकालय पढ्ने थलो मात्रै बनेको छैन,’ उनले भने, ‘जनपुस्तकालयबाट कयौँ पुरस्कार वितरण हुन्छन् । साहित्यकारको जमघटको थलो पनि बनेको छ ।’

कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीका अनुसार १८ वटा राष्ट्रिय पुरस्कार वितरणका लागि अक्षयकोष स्थापना गरिएको छ । ‘हामी सुदूरपश्चिममा मात्रै सीमित छैनौँ,’ डा. जोशीले भने, ‘अहिले सुदूरपश्चिमको जेठो पुस्तकालयले बर्सेनि राष्ट्रियस्तरका पुरस्कार वितरण गरिरहेको छ ।’ उनका अनुसार जनपुस्तकालयमा अहिले झण्डै एक लाख पुस्तक छन् ।

‘कैलाली जनपुस्तकालयमा दर्ता भएका ३० हजार र विभिन्न दाताबाट संकलन गरिएका ७० हजार गरी एक लाख पुस्तक छन्,’ उनले भने, ‘स्थानीय, राष्ट्रिय, दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, पाक्षिक र वार्षिक गरी सबै जसो पत्रपत्रिकाको पनि भण्डार जनपुस्तकालयसँग छ । ५० वर्षअघिको गोरखापत्र सुरक्षित रूपमा राखिएको छ । बीपी कोइराला धनगढी आएका बेला भिजिटरका रूपमा जनपुस्तकालय पुगेर उनले गरेको हस्ताक्षर पनि सुरक्षित राखिएको छ ।’ जनपुस्तकालयमै अध्ययन गर्दा कुनै शुल्क लाग्दैन भने सात दिनका लागि घरमा पुस्तक लैजाँदा पाठक सदस्य बन्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष जोशीले बताए । उनीहरूले पाँच सय रुपैयाँ बुझाउन पर्ने व्यवस्था गरिएको छ ।

अब डिजिटल लाइब्रेरीसँगै अनुसन्धान केन्द्र

धनगढीको मुख्य बजारमा रहेको कैलाली जनपुस्तकालयलाई अब स्मार्ट (डिजिटल) पुस्तकालय बनाउने तयारी भइरहेको छ । ‘सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो,’ अध्यक्ष जोशीले भने, ‘त्यसका लागि डेढ करोड रुपैयाँको लागतमा तीन तले भवन बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।’ पौने चार कट्ठा जग्गा रहेको कैलाली जनपुस्तकालयको पुरानो भवन भत्काएर नयाँ बनाउन थालिएको जोशीले बताए ।

उनका अनुसार तीन तले भवनको भुइँ तलामा १८ वटा व्यापारिक सटक बनाइएको छ । ‘१८ वटा सटर भाडमा लगाएर आम्दानीको स्रोत बढ्ने छ,’ जोशीले भने, ‘माथिल्लो दुई तलामा भने डिजिटल लाइब्रेरी र अनुसन्धान केन्द्र स्थापना हुने छ । डिजिटल लाइब्रेरीमा पुस्तक र पत्रपत्रिकासँगै कम्प्युटरको माध्यमबाट अध्ययनको व्यवस्था गरिने छ ।’ अध्ययन गर्नेहरूका लागि सुदूरपश्चिम प्रदेशमै अनुसन्धान केन्द्र नभएकाले तेस्रो तलामा अनुसन्धान केन्द्र स्थापनाको तयारी रहेको जोशीले बताए । ‘सुदूरपश्चिममा एउटा पनि अनुसन्धान केन्द्र छैन,’ उनले भने, ‘लोकसेवाको परीक्षामा सहभागी हुने, पीएचडी गर्नेलगायतका व्यक्तिहरूका लागि अनुसन्धान केन्द्र खोल्ने तयारी हाम्रो हो ।’

पुस्तकालय दिवस विभिन्न कार्यक्रम

प्रत्येक वर्ष १५ भदौमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज मनाइँदै छ । दिवसका अवसरमा कैलाली जनपुस्तकालयले आफ्नो मुखपत्र मालिकाको १६औँ अंक विमोचन गर्ने कार्यक्रम राखेको छ । यस्तै, प्रतिभा सम्मान तथा साहित्यिक र सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । हरेक वर्ष प्रदान गर्दै आएको कैलाली जनपुस्तकालय पुरस्कार यसवर्ष कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टलाई प्रदान गरिने छ ।

भोजराज-हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार भने कञ्चनपुरको महेन्द्रनगरका समाजसेवी मदन चन्दलाई प्रदान गरिने छ । दिवसकै अवसरमा हाजिरीजवाफ प्रतियोगिता भने सम्पन्न भइसकेको छ । २०६५ सालदेखि सरकारले १५ भदौलाई पुस्तकालय दिवसका रूपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १५ भदौ १८६९ मा पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले १५ भदौलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो  भन्ने खबर शिलापत्रमा प्रकाशित छ।