भदौ ०९, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम यसपटक पनि हुने भएको छ ।

“युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान” भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम भाद्र ११ गते कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित श्री वसन्त मुरारी नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भएको हो ।

कृष्ण जन्माष्ठमी घैटाफोड संचालक समितिको आयोजनामा हुन गईरहेको कार्यक्रमको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । आकाशे घैटाफोड कार्यक्रम करीब ३० हजारभन्दा बढि दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ ।

बौनियामा घैटोफोड कार्यक्रम गर्दा यहाँको व्यपार व्यवसायमा पनि बृद्धि हुने आयोजकले जनाएको छ । आकाशे घैटो फोडने टीमलाई नगद ५१ हजार ५१ रुपैयाँ पुरस्कार प्रदान गरीने समितिका अध्यक्ष धिरज शाहीले जानकारी दिए । उनकाअनुसार पाइप चढाई सफल हुनेलाई ८ हजार ५ सय ५१, भुई घैटो फोड्नेलाई ५ हजार ५ सय ५१ र कुर्सी दौड बिजेतालाई नगद ३ हजार ५ सय ५१ रुपैया प्रदान गरिने छ ।

आयोजककाअनुसार विगत वर्षको तुलनामा यसपटक हरेक खेलमा पुरस्कार राशी बढाइएको छ । सोही कार्यक्रमका अबसरमा विभिन्न डेउडा कलाकारको प्रस्तुती समेत राखिने जनाइएको छ ।