भदौ ०७, बर्दगोरिया । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ कैलालीको वर्दगोरिया गाउँपालिका -६ मा बृहत रक्तदान तथा १ दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा लिको आयोजना तथा वडा नम्बर ६ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाईटी टीकापुर उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा विभिन्न सामाजिक व्यक्तिले रक्तदान गरेका छन् । यस्तै श्री कृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोगमा पालिका भित्र तथा अन्य पालिका बाट आएका आँखा सम्बन्धी बिरामीहरूलाई चेकजाँच गरी सेवा दिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी “लालादिप”ले समाजमा भइरहने यस्ता सामाजिक काम गर्ने संघ-संस्थाहरुलाई पालिकाले समन्वय गरी अन्य यस्ता थुप्रै कार्यक्रम गर्न सहयोग गर्नु पर्ने बताए, पालिकाले सबै काम आफैं गर्न नसक्ने र विभिन्न कार्यक्रम गर्दा यस्ता कार्यक्रम गर्ने संस्था सँग समन्वय सहकार्य गरेर कार्यक्रम गर्दा समाजमा थुप्रै राम्रा काम गर्न सकिने वहाँले बताउनु भयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु “रञ्जितले” समाजमा हुने यस्ता किसिमका स्वास्थ्य शिविरले बिरामी जनताहरू गाउँघरमै सेवा लिन पाउने गरेको र टाढा गई चेक जाँच गराउनु पर्ने समस्या बाट मुक्त भई सर्वसुलभरूपमै आफ्नै गाउँघरमा जनतालाई सेवा दिन पाउँदा खुसी व्यक्त गरे ।

बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा लिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि, इलाका प्रहरी , शसस्त्र प्रहरी, समाजसेवी लगायतका सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन पत्रकार भीम विसीले गरका थिए।