साउन २७, कैलाली । कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



प्रहरीका अनुसार आइतबार बेलकी उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्य तिथिमा स्थानीयहरू घर अगाडि अमट्टाको रूखमुनि टेन्ट हालेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ परेको थियो।



घाइते हुनेमा उत्तरमुडाकी ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फूलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका– ३ ढुसर बस्ने ३० वर्षीया ममता थारु रहेका प्रहरीले जनाएको छ। उनीहरूको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ।

















