साउन २३, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा आजदेखि सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको परीक्षा दिउँसो २ बजेसम्म चल्ने छ ।

CP-HOSPITAL

२०८० साल चैत १५ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका तथा अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिएका छन्। एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो ।

यसअघि अधिकतम दुई वटा विषयमा मात्रै ‘एनजी’ आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था थियो । सरकारले यस पटक अनुत्तीर्ण सबै परीक्षार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरेको हो ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । आजबाट सुरु भएको परीक्षामा देशभरबाट दुई लाख १० हजार विद्यार्थीले सहभागी जनाएका छन् । परीक्षा सञ्चालनका लागि देशभर ५५० केन्द्र निर्धारण गरिएको छ । सबै विषयका गरी करिब छ लाख थान प्रश्नपत्र छापिएको छ ।