साउन २०, सुखड । सुदूरपश्चिमका थारु समुदायमा गुरही पर्व हर्षोल्लासका साथ मनाउने भएका छन । कैलालीको धनगढी,सुखड,टिकापुर वर्दगोरीया लगाएत विभिन्न ठाँउमा नाचगान सहित गुरही पर्व मनाउने गर्छन ।

यस्तै गुरही पर्वको अवसारमा कैलालीको घोडाघोडी नगरपालिका सुखड चोकमा घोरीघोरा नगर भलमनसा कार्यसमितिको आयोजनमा गुरही अस्रैना कार्यक्रम हुने भएको छ । यहि साउन २५ गते अपरान्ह ३ बजे देखी सुखड चोकमा गुरही अस्रैना कार्यक्रम हुने नगर भलमनसा तथा संयोजक बुधराम चौधरीले जानकारी दिनु भयो ।

गुरही बालबालिका सँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवा युवती सहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।

बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।

गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधी नकारात्मक अभ्यास लाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।