गर्मीको मौषम सुरु भैसकेकाले अचेल गर्मी बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्न सुरु भैसकेको छ । गर्मी मौसममा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । गर्मी मौसममा हरेक मानिस त्यस्तो तातो हावाबाट बच्न चाहन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ ।


गर्मीमा जब हामी लापरवाहीपूर्वक बाहिर निस्कन्छौं, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ । जसका कारण हामी ‘लू’को चपेटामा आउँछौं । अत्यधिक गर्मीका कारण रक्तनलीहरु फराकिलो हुन्छ । यसले गर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, जसलाई ‘लू’ लाग्नु भनिन्छ ।

‘लु’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो । पसिनाको रुपमा नुन र पानीको ठूलो मात्रा शरीरबाट निस्कन्छ र रगतको तापक्रम बढाइदिन्छ । टाउको भारी भएको महसुस हुनु, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र हुन थाल्नु यसका लक्षणहरू हुन् । त्यस्तै सास गति पनि अनियमित हुनु, ज्वरो बढ्नु, हातको हत्केला र खुट्टाको पैताला पोल्नु, आँखा पोल्नु जस्ता समस्याहरू देखिन्छन् । जसका कारण बिरामी बेहोस हुन्छ र कसै–कसैको यही कारण मृत्यु पनि हुन्छ ।

‘लू’ को प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’ बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ । यदि तपाईंलाई ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ ।


गर्मीको मौषममा लाग्ने ‘लु’ ले मानवलाई मृत्युको मुख सम्म पु-याउन सक्ने भएकाले यसबाट बच्न आवश्यक छ । ‘लु’ बाट बच्नु भनेको गर्मी बाट बच्नु हो । गर्मीको मौषममा शरिरलाई चिसो या शितलता प्रदान गर्ने खानेकुराको सेवन गर्नुपर्दछ । जस्तै काक्रो, बेल, आँप, कागती सर्वत आदी सेवन गर्नाले शरिरलाई शितलता प्रदान गर्दछ र यसले ‘लर’ लाग्न दिदैन ।
त्यतिमात्रै नभई गर्मीको समयमा लापरबाही रुपमा बाहिर निस्कन हुदैन । घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हुन्छ । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनुपर्दछ । कुनै पनि प्रकारको क्रिम लगाएर घाममा निस्कनुहुँदैन । क्रिम तैलीय पदार्थ भएकाले त्यसलाई लगाउनाले छालाको रौं छिद्र बन्द हुन्छ । जसबाट पसिना नआउनाले शरीरको तापमान नै असन्तुलित हुनपुग्छ । थोरैमात्र लापरवाहीले पनि ‘लु’ ले आफ्नो शिकार बनाउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ ।