धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउन तयारी थालेको छ ।




सत्तापक्ष दल र प्रतिपक्षी दलहरुले बजेटमाथि असन्तुष्टि व्यक्त गरिरहदा सरकारले बजेटमाथिको छलफल अघि बढाउने तयारी गरेको हो ।
आइतबार नेपाली काँग्रेस संसदीय दलको बैठक बसेको थियो । सो बैठक अनिर्णित बनेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सत्तापक्ष दलका नेताहरुलाई बजेटमाथि सहमति ल्याउन बैठक बोलाएपनि अनिर्णित बनेको हो । प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता प्रकाशबहादुर बमले बजेटमाथिको निकास निकाल्न दलको बैठक आह्वान गरेको बताए । उनले भने –‘सहमतिका लागि बैठक बसेको थियो । कुनै निकास आएको छैन । अब अर्को पटक बैठक बस्ने भनिएको छ । कहिले बोलाउँछन थाहा हुन्छ । तर, बजेटमाथिको छलफल अघि बढाउन निकास जरुरी छ ।’




प्रदेश सरकारले सोमबार प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरेको छ । यसका लागि सोमबार विहान कार्यपरामर्श समितिको बैठक बसाउने सरकारले तयारी गरेको छ ।